निर्वाचनको निष्कर्षः प्रचण्ड कांग्रेससँग जोडिने कि सिधिने ?

उपेन्द्र केसी

आमनिर्वाचन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने उदघोष गरेका थिए । प्रचण्डले भने झै नेपाली कांग्रेस पार्टी यो निर्वाचनबाट पहिलो पार्टी बन्न पुगेको छ । कांग्रेसलाई पहिलो पार्टी बनाएर प्रचण्डको सपना साकार भएको छ । एकातिर भने, अर्कोतिर उनको पार्टीको आकार घटेको छ । आफूले भने झै कांग्रेस पहिलो पार्टी भएकोमा प्रचण्ड वाहिरबाट मात्रै होइन, भित्रवाटै खुशी भएको हुनुपर्छ । प्रचण्डले आवश्यकता भन्दा बढी नै पछिल्लो पल्ट उनीले कांग्रेस पार्टीको वारेमा सोचेको देख्दा उनी माओवादी केन्द्रको होइन, कांग्रेस पार्टीको पो नेता हुन कि भन्न भ्रम सृजना हुन थालेको छ । यसो भन्नु प्रचण्डको कांग्रेसमोह उदेकलाग्दो छ ।

उता, निर्वाचनको परिणामले माओवादी केन्द्रलाई सुताए पनि उनलाई त्यसको वास्ता छैन । अर्थात त्यसले प्रचण्डलाई छोएको छैन । माओवादी केन्द्र कांग्रेससँगको सहकार्यले सुक्दै गएकोमा उनलाई कुनै प्रकारको चिन्ता पनि छैन । यो निर्वाचनमा कांग्रेसीहरुले माओवादीको उम्मेदवारलाई होइन, घण्टीलाई भोट दिए, तै पनि यस वारेमा कांग्रेसका शीर्षतहका नेताहरुसँग प्रचण्डले किन यस्तो भयो भनेर सोध्ने आँट समेत गरेको सुन्नमा आएको छैन । बरु उल्टै उनले फेरी पनि कांग्रेससँगनै गठबन्धन कायम गरेर सरकार निर्माण गर्ने खेती अघि बढाएका छन् । र, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवादलाई भेट्न वालुवाटारको दौडलाई तीव्र पारेका छन् ।

यो निर्वाचनमा माओवादी केन्द्रका नेता–कार्यकर्ताहरु कांग्रेसप्रति सोचे भन्दा बढी नै ईमान्दार भए, उनीहरुले कांग्रेसलाई भोट हाले । तर, कांग्रेसीहरुले भने माओवादीको उम्मेदवारलाई समग्रमा भोट हालेको देखिएन । भोट ट्रान्सफर वान वे मात्रै भयो । जसले गर्दा माओवादी केन्द्र खुम्चिन वाध्य भयो । पाँच दलीय गठबन्धनको राजनीतिक लाभ कांग्रेसले एकल रुपमा प्राप्त ग¥यो । तैपनि गठबन्धन –गठबन्धन भन्दै प्रचण्ड फेरी मरिहत्ते किन गरिरहेका छन रु आमजनताले कांग्रेससँगको माओवादीको सहकार्य नरुचाएको निर्वाचन मार्फत वताइसकेका छन् । तर, पनि गठबन्धनको नारा लगाउनबाट प्रचण्ड थाकेका छैनन किन ? निर्वाचनको परिणामले कांग्रेससँगको सहकार्यले माओवादी केन्द्रलाई राजनीतिक लाभ होइन, हानी गर्छ भन्ने कुरा थाह हुँदा –हुँदै पनि किन प्रचण्ड कांग्रेससँग सहकार्य गर्न हौसिरहेका छन् ? जनमतको उपेक्षा गर्दै कांग्रेससँग फेरी पनि सरकार निर्माणमा गला जोड्दै जाने हो भने माओवादी पार्टीलाई सिधिनबाट कसैले रोक्न सक्दैन ।

निर्वाचनको परिणामले कांग्रेससँग सहकार्य गर्दा माओवादीलाई राजनीतिक लाभ होइन, नोक्सानी हुने निष्कर्ष निकाल्दा पनि, त्यसको कुनै प्रवाह नगर्दै कांग्रेससँग मिलेर जान हाम फाल्ने हो भने माओवादी डुब्ने निश्चित छ । पार्टी स्वार्थलाई भन्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले व्यक्तिगत स्वार्थ केन्द्रमा राख्दै आफ्नो स्वार्थका लागि पार्टीलाई उपयोग गर्दै आएका कारण माओवादीले दुर्गति व्यर्होनु परेको हो । कांग्रेससँगको अप्राकृतिक गठजोडको राजनीतिले कहिलेसम्म माओवादी पार्टीलाई थेग्ला ? प्रचण्डको यस्तै कार्यशैली र चरित्रका कारण माओवादी पार्टी ओरालो लाग्दै गएको हो ।

कुनै बेलाको पहिलो र मुलुकको सशक्त माओवादी पार्टी आज अस्तित्व रक्षाका लागि धरमाउने अवस्थामा पुगेको छ । निश्चय पनि कुनै पनि राजनीतिक पार्टी आफ्नै मूल्य, मान्यता र सिद्धान्तमा चल्ने गर्छ । त्यही मूल्य–मान्यताको धरातलमा टेकेर दलको राजनीतिलाई अघि बढाउँछ । र, विचार समूह मिल्ने र हिड्ने बाटो एउटै भएकाहरुसँग एकता र सहकार्य गर्दै अघि बढ्ने गर्छ । आफ्नो पार्टीको मूल्य, मान्यता र सिद्धान्त विपरीत हिडेर कुनै पनि पार्टीहरुले गन्तव्य भेट्दैनन् । गन्तव्य भेट्न विचार, आस्था र सिद्धान्त मिल्ने पार्टीहरुसँग सहकार्य र एकता गरेर मात्रै पुग्न सकिन्छ । र, त्यो नै प्राकृतिक बाटो हुनेछ । तर, यहाँ आस्था, विचार र सिद्धान्तलाई लात हान्दै प्रचण्ड देउवासँग छुट्नै नसक्ने गरी अहिलेसम्म टासिएको सत्यलाई नर्कान सकिदैन् ।

सबैलाई थाह छ, देउवा –प्रचण्डको यो गठजोड मुलुकको प्रगति, उन्नती र सम्वृद्धिका लागि हुँदै होइन । गठबन्धनको यो सरकारले अहिलेसम्म सम्झन र भन्न लायक एउटै पनि काम गरको छैन । दैनिक रुपमा बढ्दै गएको बजार भाउको ग्राफले आम जनताको दैनिकी कष्टकर बन्दै गएको छ । साँझ–विहानको छाक टार्न आममानिसलाई मुश्किल परिरहेको छ । जनतामा यो गठबन्धन सरकार प्रति चरम असन्तुष्टि हिजो पनि थियो । र, अहिले पनि छ । यही गठबन्धनको सरकार फेरी पनि दोहोराउनु भनेको जनतामा देखिएको निराशालाई झनै बढाउनु हो । र, यो निर्वाचन मार्फत जनताले खोजेको परिवर्तनमा पूर्णविराम लगाउनु हो ।

भक्तपुर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

‘ऋण असुली पनि तीव्र’ काठमाडौँ, ८ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको

काठमाडौँ, ८ असार । नेकपा (एमालेका) उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई

काठमाडौँ, ८ असार । आज सेयर बजार १.४६ अंक घटेको छ । नेप्से परिसूचक २७०० अंकमा कायम भएको छ ।

काठमाडौँ, ८ असार ।जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने उद्देश्यसहित नेकपा (एमाले) निकट २४ वटा जनसंगठनहरूको आज काठमाडौँमा