काठमाडौँ, ३ असोज । बंगलादेशले साफ महिला च्याम्पियनसिपको उपाघि उचालेको छ ।
पहिलो हाफमै दुई गोल खाएपछि नेपाल सोमबार ऐतिहासिक उपलब्धिबाट चुकेको छ । घरेलु मैदानमा पहिलोपटक साफको उपाधि उचाल्ने नेपालको सपनालाई बंगलादेशले चकनाचुर बनाइदिएको छ ।
बंगलादेशले नेपाललाई ३–१ ले पराजित गर्दै पहिलोपटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको हो । दोस्रोपटक फाइनल खेलेको बंगलादेशले उपाधि जितेको यो पहिलोपटक हो । बंगलादेशले २०१६ मा पनि फाइनल खेलेको थियो ।
यससँगै बंगलादेश प्रतियोगिताको नयाँ विजेता बन्न सफल भएको छ । यसअघि सम्पन्न पाँच संस्करणकै उपाधि भारतले जितेको थियो ।







