काठमाडौँ, २४ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाउने स्थिति रहेको बताउनुभएको छ ।
चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय पदाधिकारी र विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँगको सोमवार भएको छलफलमा मन्त्री पौडेलले मेडिकल शिक्षा एकैदिन दुई ‘सिफ्ट’मा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख गर्नुभयो । सो अनुसार कार्यान्वयन गर्न निर्देशन समेत दिनुभयो ।
उहाले भन्नुभयो, “नर्सिङलगायत विषयमा विद्यार्थीले चाहेअनुसार पढ्न नपाएको गुनासो गम्भीर तरिकाले उठेको छ । कानुन संशोधन गरेरै भए पनि विदेश पढ्न जाने विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाऔँ । दुई सिफ्टमा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम र बजेटमा उल्लेख भएको छ । यसलाई कार्यान्वयन गरौँ आवश्यक भौतिक पूर्वाधार तथा जनशक्तिका लागि अर्थमन्त्रालयसँग बजेट मागौँ ।”





