काठमाडौँ, १५ जेठ । स्पानिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा शनिबार राति भएको फाइनलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १–० ले हराएर कीर्तिमानी १४औं पटक युरोपको प्रतिष्ठित ट्रफी उचालेको हो ।रियललाई उपाधि दिलाउन भिनिसियल जुनियर दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । भिनिसियसले ५४औं मिनेटमा फेडरिक भाल्भर्डेको पासमा गोल गरेका थिए ।
रियलका गोलकिपर थिबाउट कोर्तुवाले उत्कृष्ट बचाउ गर्दा लिभरपुलको आक्रमण निराश बनेको थियो । रियलका प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यस अघि उनले एसी मिलानबाट दुई र रियलका लागि एक च्याम्पियन्स लिग जितेका थिए ।
लिभरपुलको सातौं पटक उपाधि जित्ने सपना भने पूरा हुन सकेन । रियलले पछिल्लो पटक २०१८मा लिभरपुललाई हराएर उपाधि जितेको थियो भने लिभरपुल २०१९ मा च्याम्पियन बनेको थियो । लिभरपुलका प्रशंसकहरु मैदानभित्र पस्न समस्या हुँदा खेल नै ३० मिनेटपछि सुरु भएको थियो । मैदान बाहिर केही अराजक दृश्य देखिएको थियो भने फ्रेन्च पुलिसले केहीलाई पेपर स्प्रे समेत प्रहार गरेका थिए ।







