काठमाडौँ, २ फागुन । नेपाल टेलिकमले आइतबारदेखि कर्णाली प्रदेशमा ‘एनटी टिभी’ ब्राण्डमा फाइबर टु दी होम (एफटीटीएच) मार्फत आइपी टिभी सेवा सुरु गरेको छ ।
एफटीटीएच सेवाबाट भ्वाइस र डाटा उपलब्ध गराउँदै आएको टेलिकम सुर्खेतले वीरेन्द्रनगरबाट ‘एनटी टिभी’ सेवा पनि सुरु गरेको हो । अप्टिकल फाइबर पु¥याएर ट्रिपल प्ले (भ्वाइस, उच्च गतिको इन्टरनेट, आइपीटीबी र भिडियो) सेवा प्रदान गर्न सकिने छ । हाल प्रयोगमा रहेको ल्यान्डलाइन टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न माध्यमबाट महसुल बुझाउन वा रिचार्ज गर्न सकिनेछ । एफटीटीएच सेवामार्फत भ्वाइस, डाटा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटी टिभी सेवा प्राप्त गर्न नेपाल टेलिकमको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।
टेलिकमको यो सेवा ४२ जिल्लामा विस्तार भइसकेको छ । एनटी टिभी विस्तारले प्रदेश सरकारको डिजिटल कर्णाली स्थापना गर्ने अभियानमा सहयोग मिल्ने टेलिकम प्राविधिकको विश्वास छ ।





