(जेष्ठ २४, काठमाडौं) । म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।
अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार सफाइ दिने फैसला सुनाएको हो ।
राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, विकास सिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अञ्जन केसी र फिजियो डेजिव थापाले सफाइ पाएका हुन् ।
उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो । नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर हारेको भेटिएको भन्दै प्रहरी पक्राउ गरेको थियो । तर, राज्य विप्लवको कसुर गरेको नदेखिएको फैसलामा उल्लेख छ ।






