काठमाडौँ, २८ कार्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २-० ले पराजित गरेको हो ।
नेपाल पाँच वर्षपछि बंगलादेशसँग पराजित भएको छ । सन् २०१५ मा मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग १-० ले पराजित भएको थियो ।
बंगलादेशले खेलको दुवै हाफमा एक/एक गोल गरेको हो । खेलको दशौँ मिनेटमै मोहम्मद नविन नेवाज जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । त्यसपछि नेपाल बराबरी गोल फर्काउन प्रयासरत रह्यो । तर दोस्रो हाफमा बंगलादेशले दोस्रो गोल गर्दा नेपालले भने गोल गर्न सकेन । ८०औं मिनेटमा महबुबुर रहमानले एकल प्रयासमा गोलकिपर किरण चेम्जोङलाई समेत छलाउँदै गोल गरे ।
मैत्रीपूर्ण खेलको सिरिज अन्तर्गत दोस्रो खेल नेपालले बंगलादेशसंग यही नोभेम्बर १७ तारिखमा खेल्नेछ ।






