बर्षा शर्मा
वैशाख महिना, वसन्त ऋतुको आगमन सँगै जताततै हरियाली छाएको छ । रुखहरमा नयाँ पालुवा लाग्दै छन्, चराहरु चिरबिर चिरबिर कराउँदै आफ्नै भाषामा कुराकानी गरिरहेका छन्, मैले बुझिरहेकि छैन तैपनि उनिहरुको रमणिय द्रिश्य मैले घरको कौसिमा बसेर हेरिरहेकि छ । निकै रमाईलो लाग्छ मलाई प्राकृतिक सौन्दर्यमा रमाउन, लाग्छ ती चराहरुले बोलेको बुझ्ने भए झन् तिनिहरुकै साथि बन्दिन्थे होला । एक्कासी किचनबाट मामुको आवाज आयो “सानी म गएँ है किचनमा खाना छोपेर राखिदिएको छु क्ष्म झस्किएँ, लाग्यो म सपनामा थिएँ अनि मामुले पानी छ्यापेर उठाइदिनुभयो, तर त्यो सपना थिएन । हत्तपत्त हातको घडी हेरें विहानको साढे सात वजिसकेको रहेछ, झन्डै डेढ घन्टा जति भैसकेछ म कौसीमा बसेको पनि । चराहरु अनि मेरो फुलबारीमा फुलेका फुलहरुले पनि सानी अफिस जान ढिलो हुन्छ तँलाई छिटो जा भोलि भेटौंला भनेको जस्तो लायो र मनले पनि । मामु खाना पकाएर बोकेर पसलतिर गैसक्नु भएछ । बाबा भने बिहानै पसल खोल्न जानु भैसक्यो । घरदेखि हिनेर झन्डै आधा घण्टा लाग्छ हाम्रो पसल पुग्न । म दश वजे अफिस पुग्न पर्ने भएकाले घरको बाँकि काम छिटो छिटो गर्न थालें । वरिपरि एकदमै सफा चाहिन्छ मलाई घर सफा गरें, सबै कोठा सफा गरें अनि फ्रेस भएर अफिसको ड्रेस लगाएँ, हल्का मेकअप पनि गरें । त्यसपछि खाना खाएँ, घडी हेर्दा नौ बज्न थालिसकेको थियो। स्कुटर स्टार्ट गरेर अफिसतिर लागें । प्राय बिहानको समय सधैं यसरी नै बित्छ मेरो, हतारहतार तर शनिबारको दिन भने अलि केहि फरक हुन्छ ।
परिवारमा मामु बाबा म वाहेक मेरो दादा पनि छ । ऊ जापान बस्छ, तिन बर्ष भयो जापान गको पनि अनि ममि बाबाको चाहिँ रक्सीको डिलर छ। हामी सबै परिवारको भेट हुने भनेको राति खाना खाने बेलामा मात्रै हो । हामि सङ्गै दादा पनि हुन्छ, भिडियो कलमा । हाम्ले रातिको खाना खाने बेलामा उता दादाले दिउसोको खाजा खाने टाईम हुन्छ सधैं । आज पनि सधै झैं दादा संग कुरा गर्दै थियौं म चाहिँ फेसबुक को नयुज फिड पनि हेर्दै थिएँ । ठ्याक्कै निलम दिदीको जनैसुपारीको फोटो देखेपछि मैले सबैलाई देखाएँ। निलम दिदी मेरो मामाको छोरी, मैले कमेन्टमा बधाई छ दिदी भनेर लेखें । दादा पनि लाईनमै थियो उसले पनि हेर्यो । एकछिन त्यही विषयमा कुराकानी भयो । निलम दिदि र दादा सँगै पढेका मिल्ने साथी जस्तै थिए । त्यसैले मैले दादालाई जिस्काउँदै भने, “दादा निलम दिदिको बिहे रे, अब तेरो नि बिहे गर्ने बेला भएछ ।”
ज्ञदादाले फर्कायो “मेरो भन्दा पहिला तेरो हुन्छ सानी, दशैंमा म आएपछि सानीको विहे गर्दिन पर्छ मामुयति सुनेपछि मेरो मुटुमा तिखो काँडा बिजेझै चिसिक्क भयो र भने, खुब मलाई घरबाट लखेट्न हतार भाछ तँलाई” मनमनै रिस पनि उठ्यो ।
यत्तिकैमा मामुको मोबाइलको घन्टि बज्यो, मामाको फोन रहेछ । मामु फोन लिएर दादालाई वाइ भनेर माथि कोठामा जानुभयो । बाबा एकछिन दादा संग कुरा गर्दै हुनुहुन्थ्यो, म चाहिँ भाँडा माझ्न जान्छु है दादा अहिले आउँछु भनेर गएँ । भाँडा माझेर किचन सफा गरेर सकेर आएपछि दादासंग कुरा गर्न थालें । मामुको पनि मामासंग कुरा सकिएछ क्यारे तल आउनुभो । दादाको काममा जाने वेला भएछ, वाई भनेर फोन कट गर्दियो। घडिमा रातिको नौ बजिसकेको थियो। मामुले निलम दिदिको बिहेमा को जाने भनेर कुरा निकाल्नु भयो । त्यहि कुरा गर्न मामाले फोन गर्नुभाको रहेछ । अबको चार दिन पछि आईतबार दिदिको बिहे रहेछ । बाबाले म जान भ्याउँदिन होला, पसल छोड्नै मिल्दैन एकजनाले तिमिहरु जाओ भन्नु भयो । निकै दुःख गर्नु हुन्छ बाबा मामु दुबैजनाले एकछिन नि फुर्सद हुँदैन। बाबाले पसलको कारोवार सबै सिद्धार्थ वैंकबाटै गर्ने भाको भएर चेक साट्ने पैसा जम्मा गर्ने काम चैं मैले गर्छु । वैंकमा लाईन बस्न पर्ने काम चाहिं गर्नु पर्दैन । सधैंझै आजपनि बाबाले काम लिएर आउनुभाको रहेछ र मलाई सुम्पिंदै भन्नुभयो, “भोलि सपिङ गर्न पर्नि होला तिमिहरुलाई यसैबाट गरेर बाँकि एकाउन्टमा हाल्दे है “
मेले हवस् भन्दै टाउको हल्लाएँ र आफ्नो कोठातिर लागें । किन यति छिट्टै विहे गर्न थाल्नु भाको तैछ हतार हतार, लभ म्यारिज रैछ कि यरेन्ज म्यारिज, कस्तो रैछ केटा, के गर्ने रैछ?? यस्तै अनेकौँ प्रश्नहरु मनमा खेलिरहेका थिए । निन्द्राले पनि मेरो आँखासम्म आउने बाटो विर्सिएछ क्यारे लाग्दै लागेन । अनि फेसबुक खोलें । यस्सो हेरेको निलम दिदी अनलाईनमा हुनुहुँदो रहेछ । म्यासेज गरें “हेलो दिदी, बधाई छहै । “दिदिले पानको पात सहितको म्यासेजमा थ्याङ्क यु भन्नुभयो । मलाई मनमा खेलिरहेका सबै प्रश्नहरु सोध्न मन थियो तर अस्तित्वले दिएन । दिदिको प्रोफाइल खोलेर हेरें। हुनेवाला भिनाजुको फोटो देखेपछि उहाँको पनि प्रोफाइल खोज्न मन लायो । एकछिन खोजेको भेटाईहालें। कालो लामो कपाल, त्यसको तल पट्टी कालो दबङ्ग चस्मा, कालो सर्लक्क मिलेको दारी, सेतो टिसर्ट अनि निलो जिनमसको पाईन्टमा समुन्द्रको किनारमा हिरोको पोजमा उभिएको प्रोफाइलको फोटोलाई देखेर मेरा आँखा एकछिन टक्क रोकिए अनि मन लोभिए । बलिउड क्रस साहरुख खान पनि त्यो भन्दा कम नै लाग्यो । अनि मभित्रको मेरो अर्को रुप मेरो आँखा अगाडि आयो र भन्यो, “के हेरेकि पागल, तेरो हुनेवाला भिनाजु हो ।”
त्यसपछि म झस्किएँ अनि आफुलाई सम्हालें । मनमनै सोच्न थालें साँच्चै भाग्यमानी हो मेरी दिदी । सबै फोटाहरु हेरेरै सकें । अनि एउटा कुरा चैं ख्याल गरिरहेँ कि उसको सबै फोटोहरुमा निलम दिदिको रियाक्ट अनि कमेन्ट छन् । यसबाट म ढुक्क भएँ कि उनिहरु धेरै पहिलेदेखि नै एकअर्कालाई चिन्ने रहेछन् । दिदीले नर्सिङ्ग सकेर अस्टेलिया जान्छु भनेको कुरा याद आयो र यो मान्छे अस्टेलिया बस्ने कुरा उसको फेसबुकले भन्यो । अब चैं मेरा सबै प्रश्नहरुको जवाफ म आफैंले पत्ता लगाएँ । भन्छन् जो संग लभ गरिन्छ त्यहिसंग विहे भाग्यमानीको मात्रै हुन्छ । मैले आफुलाई फर्किएर हेरें र सोचें मेरो पनि स्कुल र कलेजमा त मायाँ गर्छु भन्ने धेरै थिए । दुई तिनटा त ब्वाइफ्रेन्ड नि बनाईयो त्यसपछि यो लभ भन्ने कुरामा विस्वासै लाग्न छोडेको थियो । बिहे भन्ने शब्द सुन्यो कि रिस उठ्छ मलाई, नगरे पनि हुन्छ जस्तो लाग्छ । तर निलम दिदिको लभ देखेर चाहिँ कताकता डाहा लागेर आयो । आफुले यति हेन्डसम केटा आजसम्म फिल्ममा मात्र देखेको भएर होला रिस पनि उठ्यो भगवान देखि । अब चैं निन्दाले मलाई बोलाएझैं लाग्यो घडि हेरें बाह्र बज्न लाईसकेको रहेछ । वत्ति निभाएर सुते ।
रातो सारी, हातैभरी राता चुरा,गोरो अनुहारमा छोयो कि दाग लाग्ला जसरी गरेको मेकअप, शिरदेखि पाउसम्मै छपक्कै पहेंलै गहनाले सजिएकि दिदीलाई देखेर एकछिन टक्क उभिएर हेरिरहन मन लाग्यो । स्वर्गकि परी भनेको सुनेको मात्र थिएँ, आज मेरै अगाडि देखें । नारी सबैभन्दा राम्रि दुलहि हुँदा नै हुन्छन् रे, साँच्चै हो रैछ जस्तो लायो । दुलहि स्रिङ्गार सकिसकेको छ तर म अझै घर बस्दा लाउने टिसर्ट सुरवालमा थिएँ । दिदीको विहे काम कति हो कति त्यहिमाथि सारी लगाउन नआउने मान्छे, कस्ले लगाईदेला खोजिरहेकि छु । सबै आईमाइहरु आफै सजिन व्यस्त छन्। सबैजना केहि न केहि काममा व्यस्तै छन् । कसैलाई फुर्सद नै छैन। मामुलाई खोज्छु, भेटिन। एकछिन पछि सर्मिला अन्टिलाई भेटे अनि मलाई सरी लगाईदिनु भने, मपनि अरुझैं सजिएर निस्किएँ। सवैको नजर मैतिर पर्यो फेरी “निलो सारी कति सुहाको सानीलाई” “कति राम्री देखिएकि “बिचार गर है सानी अब पालो तेरै हो, उडाउला नि एउटाले आजै” यस्ता तारिफहरुले म मख्ख भएँ।निलो सारी, निलो टिकि, एउौा हातैभरी निलै चुरा अनि अर्को हातमा दादाले जापानबाट पठाइदिएको गोल्डेन घडि, कानमा लामा लामा झुम्का, एक भित्ता अग्लो सेन्डलले सजिएर म पनि दुलहि भन्दा कम्ति त देखिएकि छैन जस्तो लाएर एकपटक फेरी ऐनालाई सोधें, ऐनाले पनि साँच्चै राम्री देखिएकि छस् भन्यो र ढुक्क भएँ । यत्तिकैमा जन्ति आए भन्ने खवर आयो म पनि जन्ति स्वागत गर्न लागें । त्यसपछि विवाहको सबै रितिरिवाज शुरु हुन थाले । दुलाह अनि दुलाहका परिवार निकै खुसी देखिएका छन् । तर दुलहि पक्षमा सबैजनाको अनुहार मलिन देखिएको छ । मेरो नजर दुलहिको बाबातिर गयो । कपाल खौरेर थोति मात्र लगाउनु भाको, मनभरी छोरीलाई अर्काको घर पठाउनु पर्दाको पिडा, त्यसैमाथि कामको बोझ, कतै केहि कमि हुन्छ कि, जन्तिलाई स्वागतमा केहि कमि हुन्छ कि चिन्ता निकै थकित देखिनुहुन्थ्यो मामा । त्यति नै बेला मैले मेरो बाबालाई त्यहि रुपमा कल्पना गरें। मनमनै रुन मन लायो। मुटुको एउटा टुक्रा नै शरिरबाट अलग भएर अन्तै जान थालेको बेला कस्तो हुन्छ त्यस्तै त हुन्छ होला सोंचे । त्यसपछि दुलहिको आमालाई हेरें, माइजुको आँखा कुनै पल पनि ओभानो थिएन । त्यसपछि मेरो मामुलाई कल्पना गरें । निकै नरमाइलो लाग्यो । यसरी रुवाएर छोडेर जानु पर्छ है एकदिन मेरो पनि यस्तै दिन आउँछ ।
आगनभरी फर्निचरहरु राखिएको देखेर अचम्म लायो । खाट, दराज, बिस्तारा, सोफासेट, टेवल, अनि अल्लि पर हेर्दा फ्रिज,वासिङ मेसिन, राईस कुकर, आइरन जस्ता सबै सामान राखिएको छ । लाग्छ, कोहि बसाई सराई गरेर कतै जाँदैछ । सोंचे, निलम दिदि पो जाँदै हुनुहुन्छ त भिनाजुको घर । अनि मामुलाई सोधे, यस्तो सबै सामान दिएर पठाउन पर्छ र ? “मामुले दाईजो त दिन पर्यो नि साने भन्नुभयो, “नदिए हुन्न र?” “भिनाजुको घरमा सामान छैन होला र?” “दाईजो किन दिन पर्यो “भनेर बच्चा झैं मामुसंग जिद्दि गरिरहें र मामुले दिनपर्छ नदिए समाजले के भन्ला रे, ओहो समाजको लागि पो, मलाई यस्तो दाईजो दिएको मननै पर्दैन के । यत्तिकैमा मामु केहि नबोलि जानु भयो र यो दाईजो वाला कुरा चैं मेरो मनमैं गड्यो । छातिमाथि ढुङ्गा राखेर छोरी पनि दिनुपर्ने रे, यत्रो दाइजो पनि दिनपर्नि रे, यत्रो स्वागत सत्कार पनि तिनिहरुलाई नै गर्न पर्नि रे, मलाई यो चलन मन नै परेन भन्या ।
उता विदाइको वेला भईसकेछ, सबैजनाको रुवाबासी चलिराछ। मलाई पनि रुन मन लायो निलम दिदी मलाई अँगालो हालेर रुनुभयो, मपनि रोएँ । मामा माईजु त झन कति रुनु भो कति । तर भिनाजुतिरको मान्छेहरु फेरी दाइजो सम्हालेर राख्न ठिक्क छन् । यो देखेर मलाई मन मनै रिस उठ्यो। तर केहि बोलिन । निलम दिदी हेर्दा हेर्दै हामि सबैलाई छोडेर जानु भयो । माईजुको आँखामा आँसु सुक्दै सुकेन राति सम्म पनि। मामु र म भोलि बिहानै घर जाने सललाह गरियो। राति निकै बेरसम्म मामु अनि मामा माईजु गफ गरेर बसिरहनु भाको छ म भने मोवाइलमा फोटो हेर्दै बसें। फोटो खिच्न भनेपछि हुरुक्क हुने म, आज धेरै फोटो नै खिचेनछु । लगभग पच्चिस लाखको खर्च भयो रे दिदिको बिहेमा अब त्यो रिन कसरी तिर्ने चिन्ता हुन थाल्यो मामाघरमा, मामुले हामिसंग लिएको अन्तिममा तिरेपनि हुन्छ अरुको ति पहिला भन्नुभयो । मैले भनें यति रिन गरि गरि किन विहे गर्दिन पर्छ र । मन्दिरमा लएर टिका लाइदेको भए हुन्थ्यो नि । मामु मेरो बिहेमा यत्रो खर्च गर्न पर्दैन है । घरमा सुत्ने खाट नि नभएझैं खाट दाईजो दिन पर्दैन मलाई। समाजको लागि गर्न पर्छ रे। मलाई यो मन परेन। निलम दिदिले नर्सिङ पढ्न त्यत्रो खर्च गराउनु भो अनि अहिले बिहेमा उस्तै खर्च । यस्तै कुराहरु गर्दा गर्दै मलाई निन्द्रा लायो र सुत्न गएँ। भोलिपल्ट बिहानै हामि घरतिर लागियो ।
साँझ पर्न थालिसकेछ आज अफिसको काम सकेर घर फर्किंदा बाटोमा मायाँ गर्ने जोडिहरु हात समातेर,अँगालो मारेर हिंडिरहेका छन् । बाटोमा अफिस स्कुल अनि कलेजबाट घर फर्कनेको भिंड उस्तै । चराचुरुङ्गी हरु पनि आफ्नो गुँडतिर जादै छन् । साँझ दादाले एउटा केटाको कुरा गर्यो, उसको साथिको दाई रे, घर वुटवल दादाले मेरो बिहेको कुरा गरेको रहेछ। मेरो फेसबुकमा रिक्वेस्ट पनि आको रहेछ । दादाले कुरा गर मन परे कुरा अगाडि बढाउँला भन्यो । मामु बाबा लाई पनि उसकै बारेमा कुरा गर्यो। अमेरिका बस्ने रहेछ। मलाई भने विदेश भनेपछि मनै पर्दैन । आफ्नै देशमा दुख गर्ने विदेश नजाने सोंच छ । त्यहिपनि कुरा गर्दा के नै हुन्छ र भनेर कुरा गर्न थालें । हेर्दा हेन्डसम नै लाग्यो । मामु बाबा ले पनि उसको मामु बाबालाई पहिले नै चिन्नु भाको रहेछ। दादाको साथि निरज, हाम्रो घरमा आइरहनुहुन्थ्यो । कुरा हुँदै गयो। मेरो र उसको पनि कुरा भइरहन थाल्यो । राम्रो साथि जस्तै भइयो। मेरो र उसको सोचाई लगभग धेरै मिल्ने रहेछ। अब दशैंमा उ पनि घर आउने अनि दादा पनि आउने कुरा छ। मैले त्यति खेरै भेटेर कुरा गरम्ला भनें । आज मेरो लोकसेवाको रिजल्ट आयो र नाम पनि निस्किएछ, दादालाई सुनाएँ । अब म पनि सरकारी जागिरे भएँ । निकै खुशी भएँ । उसलाई पनि सुनाएँ ,खुसी भयो। बिहेपछि म घरमैं बस्ने उ चाहिँ अमेरिका जाने कुरा भयो । दशैंमा आएपछि हाम्रो विहे हुने निश्चित नै भयो अब । मलाई दाईजो दिएर धुमधाम गरेको विहे मन पर्दैन भनें, उसलाई नि मन नपर्ने रहेछ । मन्दिरबाट विहे गर्ने निर्णय भयो । मैले मेरो सरकारी जागिर हो हजुरलाई दाईजो भनेर जिस्काउँछु, उ हवस् भनेर हाँस्छ। हेर्दा हेर्दै दशैंपनि आयो, हाम्रो विहे पनि भयो मन्दिरबाट, बिना दाईजोको। अबको पन्ध्र दिनपछि उहाँको फ्लाइट रे, धेरै दिन संगै विताउनै पाईएन, चित्त दुखिराछ ।
“चिन्ता नलेउ न प्यारी, इमर्जेन्सी छ। अर्काको देशमा यस्तै हो” “त्यहि भएर हो मलाई विदेश जान मन नलाग्नि,नजानु अब” “तिमि पो सरकारी जागिरे, मैले यहाँ के गर्ने, टन्न पैसा कमाएपछि जिन्दगी भरिलाई पुग्ने भएपछि आउँछु नि अनि संगै बसुमला” मेरो मुटुमा काँडा बिजेझैं भयो दुखि हुँदै बिदा दिएँ । घरमा मामु र जेठनि दिदिले एकदिन कुरा गरिरहेको सुनें “सानिले दाईजोमा एउटा खाट पनि ल्याइन, हाम्रै खाटमा सुत्छे, खुब सरकारी जागिर को धाक देखाउँछे, त्यसको जागिरले हुने भए विहे नगरेको भए नि हुन्थ्यो त भएन क्यारे, रितिरिवाज केहि थाहा रहेनछ यिनिहरुलाई” मनमा चिस्स चिसो लाग्यो अनि तलब आएपछि फर्निचरहरु किनेर लिएर आएँ । त्यहिपनि मैले मामु र दिदिको मन जित्न सकिन । उहाँलाई एकदिन सोधें ।
“मपनि आउँछु अमेरिका हुन्छ ? “उहाँ एकदमै खुशी हुनुभयो । उहाँले त्यहि सोच्नु त भाको रहेछ तर मैले मान्दिन भनेर नभन्नु भाको रहेछ । त्यसपछि मेरो त्यत्रो मेहेनत गरेर पाएको सरकारी जागिर छोडेर विदेश जान पर्यो । आखिर नारीले चाहेका रहरहरु भन्दा समाज र परिस्थिति हुँदो रहेछ । आफुले चाहेका भन्दा परिस्थितिले चाहेका कुराहरु ठुला हुँदा रहेछन् । आखिर यस्तै रहेछ नारीहरुको जिन्दगी सधैं अर्काको लागि बाँच्नुपर्ने, आफुले पाएको र चाहेको सबै छोडेर अरुको लागि हुनुपर्ने ।
धन्यवाद !






