सम्माननीय पूर्वप्रम डा. बाबुराम भट्टराई ज्यु,
नेपालको संविधान २०७२ को भाग ३ को धारा ४८ मा उल्लेख गरिए बमोजिमको एक नागरिक तर समाजमा तपाईंहरुले परिभाषित गरे अनुरुप शोषक, सामन्त, प्रतिक्रियावादी र परिवर्तन बिरोधी म ब्राह्मणको छोरोको तर्फबाट लालसलाम ।
डा। साप, २०६५ सालमा तपाईं अर्थ मन्त्री हुँदा बेरोजगार युवाहरुलाई लक्षित गरेर ल्याइएको युवा स्वरोजगार कार्यक्रम निकै पपुलर र प्रसंसनीय रह्यो । तपाई प्रधानमन्त्री भई सकेपछी, नेपाली उत्पादन मुस्ताङ म्याक्स गाडी चढ्ने घोषणाले तपाईको उचाई अझ थप्यो । विशेष गरेर शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउने मुख्य कार्य अन्तर्गत तत्कालीन जनमुक्ति सेना समायोजन गर्ने काम तपाईं कै कार्यकालमा सम्पन्न भयो । यी र यस्ता तमाम कार्यहरुको भर्पाइ आगामी समयले गर्ला या नगर्ला, म भन्न सक्दिन तर यी कार्यहरु वास्तब मै प्रसंसनीय रहने छन् ।
डा. साप, “कसैको पनि हत्या अपराध हो । तेहि हत्याको जगमा टेकेर त्यसलाई जातीयताको स्वरुपमा बहसको विषय बनाउनु समाजलाई अपराधीकरण गर्नु हो” भन्ने मेरो ठम्याई रहेको छ, किन भने आजको २१औं शताब्दिमा आइपुग्दा समेत हामीले हाम्रो चेतनालाई जातीयताको सङ्कृण सोच भन्दा माथि राख्न सकेनौ भने यो हाम्रो सबै भन्दा ठूलो ऐतिहासिक भुल हुनेछ !
डा. साप, तपाईंहरु कै माग बमोजिम संविधान सभाको निर्वाचन भयो । राजतन्त्रको अन्त्य भयो, समाजमा विकसित विकृतीहरुलाई निमिट्यान्न पार्न तपाई जस्तै बौद्धिक व्यत्तिहरुले प्रयोग गर्ने शब्दहरु, दलित, जनजाती, मधेसी, आदि आदिलाई आरक्षणको व्यवस्था भयो । तपाईं देशको प्रधानमन्त्री हुँदाका बखत पहिलो संविधान सभाले मिति २०६७ जेष्ठ १४ गते जारी गर्नुपर्ने संविधान जारी नगरी भङ्ग गरियो । पुन: दोस्रो संविधान सभाको निर्वाचन भयो । पहिलो संविधान सभाले छलफल गर्न नभ्याएका विषयहरु दोस्रो पटक छलफलमा ल्याइयो होला पक्कै पनि ! हजारौं जनताको बलिदानी पश्चात प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी बोकेका ब्यक्ती तपाईंहरु कहिलेसम्म, एकीकृत भएको समाजलाई जातीयताको आधारमा बिखन्डन गर्न तर्फ लाग्नु हुन्छ ? तपाईं जहाँ जहाँ जानुहुन्छ त्यहीका समाज अनुकुल आफुलाई परिवर्तन गर्नुहुन्छ, थारु, मधेशी, मगरात गुरुङ, शेर्पा, राई, तामाङ, नेवार, दलित जिन्दावाद ! कहिलेसम्म जातीय राजनीतिको आहालमा डुब्ने विचार छ डा। साप रु के यी सबैलाई छोडेर नेपालीलाई एकताको सुत्रमा गोलबन्द गर्ने कुनै रणनीति बनाउन सक्दैन तपाईं हाम्रो बौद्धिकताले ???
डा. साप, संसारको एकमात्र हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष बनाइयो, यसको अर्थ धर्म शुन्य हुनु पक्कै होइन । सबै धर्म प्रती समभाब, सबै धर्मको विकासको स्वतन्त्र अवसर र यिनिहरुका बिचको समन्वय, सबै धर्ममा अन्तरनिहित आधारभुत मानविय गुणहरुमा आधारित सम्प्रदाय मुक्त आध्यात्मिकताको विकास नै धर्म निरपेक्षताको लक्ष्य हुनु पर्दछ । हिन्दु ग्रन्थहरुको भन्दा पनि हिन्दु धर्मका ठेकेदारहरुले कसैलाई कज्याउने मनसाय बोकि निश्चिति समुहलाई प्रयोग गर्दै आए त्यसको प्रभाव आजसम्म जिवन्त रहन पुग्यो, यसरी आफु अनुकुल प्रयोग गर्दा गर्दै उनिहरुलाई निच देखाइयो । जसको कारण अन्यायमा परेका भनेका समुदायहरुलाई यहाँ निर न्याय भयो या भएन मैले बुझ्न सकिन तर अन्याय चाहीँ पक्कै भएको छैन ! तथाकथित रुपमा तल्लो जात भनेर परिभाषित गरिएका ब्यक्तिहरु सबै दुखी र पिडित पनि छैनन् र तपाईले सामन्त शोषक भनेका बाहुन क्षेत्रीहरु पनि सबै पिडक छैनन् । समाज परिवर्तित छ, सबैलाइ शिक्षा, स्वास्थ्यको पहुँच पुर्याउनु पर्छ भन्ने मान्यता सरकार लगाएत आम नागरिकको चासोको विषय बनेको छ । यसमा नागरिकको हैसियतले हामी पूर्ण रुपमा सहमत छौं । हामी आशावादी छौं, एउटै मुहानको पानी खाएर हुर्केका, सार्वभौम भै मेची महाकालीसम्म फैलिएका हामी, कदापी एक अर्कालाई आरोप प्रत्यारोप गरेर बस्ने मनसायमा छैनौं । हामी हाम्रो राष्ट्रिय स्वाभिमान जोगाउन दुश्मनको गोली छातीमा थापेर मर्न तयार छौं तर जातीगत स्वाभिमानको लागी हामीमा कुनै द्वेष छैन । मलाई लाग्छ जातीगत आधारमा कसैको पनि स्वाभिमानमा आच पुर्याउने काम हामी कसैले पनि गर्नु हुदैन । मेरो सम्बन्धमा मैले माथी नै भने म कथित माथिल्लो जात भनेर तपाईंहरुले परिभाषित गरेको शोषक, सामन्त वर्ग मध्यको ब्राह्मण जाती तर मलाई ब्राह्मण हुनुमा कुनै गौरव महशुस हुँदैन । किन भने मेरा धेरै अनन्य मित्रहरु तपाईंले परिभाषित गरे जस्तै दलित, थारु र अन्य अन्य जातका हुनुहुन्छ । उहाँहरुको अगाडी म आफुलाई बाहुनको रुपमा कहिल्यै पेश गरिन र मेरो चेतना बाँकी रहँदासम्म मैले गर्ने पनि छैन् ।
डा. साप, भारतका प्रतिभाशाली वैज्ञानिक राष्ट्रपति डा. अब्दुल जे कलामसँग एक १० वर्षिय बालिका अटोग्राफ लिन पुग्छिन । डा. जे ले बालिकालाई सोध्छन, “तिमि भविष्यमा के हुन चाहन्छ्यौ ?” बालिकाले तुरुन्त जवाफ दिन्छिन, “म एक समुन्नत भारतमा जिउन चाहन्छु ।” ठिक त्यसै गरि हामी नेपाली पनि उन्नत, शान्त, न्यायपूर्ण र स्वाभिमानी नेपाली भएर जिउन चाहन्छौ ! हामी कुनै जाती विशेषको ठेकेदार नभएर, मात्र नेपाली भएर जिउन चाहन्छौ । हाम्रो चाहना छ यो देशको सार्वभौमसत्ता नेपाली जनता मै निहित रहोस । हामी हाम्रो भुमीमा निस्फिक्री हिड्न डुल्न पाउ । यहाँ त सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मी नै भारतीयबाट असुरक्षित छ्न्, के यसरी हाम्रो स्वाभिमान जोगिएला ??? केही भारतीय कर्मचारीहरुले एउटा अङ्गुलिमा नचाउन सक्ने यहाँका राजनीतिक दल देखेर हामी हैरान छौं । भर्खरैको मेरियट होटेलको घट्नाले हामीमा निराशा छाएको छ । के साच्चै एक स्वाभिमानी राष्ट्रका वीर सन्तानहरुले हरेक पल बाहिरियाको इशारामा चल्नु पर्ने हो ? यदि तेसो हो भने यो निकै गंभिर विषय हो यसबारे ध्यान दिनु जरुरी छ ।
डा. साप, मानिसमा विद्यमान दरिद्रताहरु मध्य सबैभन्दा घातक भनेको वैचारिक दरिद्रता हो । किन भने हामी यस्तो देशका नागरिक भयौं, जसको लागी विकास र आर्थिक एजेन्डा कहिल्यै महत्वपूर्ण बन्न सकेनन् तर राष्ट्रको शक्ती सम्पदा जहिल्यै राजनीतिक अस्थिरतामै बर्बाद भयो । स्वतन्त्र र सृजनशिल चिन्तन विबिकसित हुन सकेन । देशको भुमी छिमेकीबाट ५०औं वर्ष अघिदेखी मिचिएको हुन्छ तर त्यसको दोष वर्तमान सरकारलाई दिइन्छ । राजनैतिक अस्थिरताले १२ वर्षमा १२ सरकार फेरिने देश जहाँ तपाईं स्वयं पनि अर्थमन्त्री र प्रधानमन्त्री बन्नुभो तर यी र यस्ता सीमाका विषय कहिल्यै उठ्न पनि उठेनन् र उठाउन पनि खोजिएन । के यी विषय गम्भिर होइनन ? अहिले आएर यीनै विषयमा सरकारका बिरुद्ध टुइटरमा व्यंग्य गर्दै, आफैले आफैलाइर्ए वाह ! क्या बात भन्दै बस्नु हुन्छ । सच्ची तपाई प्रधानमन्त्री हुँदा यी विषयमा कति काम गर्नु भो ??? एक पटक छातिमा हात राख्नुस त ! अवश्य पनि यी र यस्ता पक्षमामा जनताले मुल्यांकन गर्दै छन् !
डा. साप, विश्व कोरोनाले आक्रान्त बनेको बेला नेपाल समेत यसबाट अछुतो रहन सकेन । यो विषयमा तपाईंलाई थाहा नभएको पनि होइन, साथै नेपालको स्वास्थ्य र प्राविधिक क्षमताको बारेमा समेत तपाई स्वयं जानकार हुनुहुन्छ । फेरि पनि यहि मौका पारेर बर्सौ देखी नेपाली भुमी कालापानीमा आफ्नो सेना राखेको भारतीय सरकारले नेपाली भुमी मिचेर चिनको मानसरोवर जोड्ने बाटो बनाएको खबर एकाएक बजारमा आयो । १/२ दिन नेपालमा खल्बली मच्चियो । सरकारले भारतीय सरकारको कामलाई काउन्टर दिदैं कालापानी, लिपुलेक र लिम्पियाधुरा समेत समेटेर नयाँ नेपालको नक्सा जारी गर्यो । यो ऐतिहासिक कदमको सबैले खुलेर प्रसंशा गरे । वास्तवमा सरकारको यो कदम प्रती सम्पूर्ण राष्ट्र गौरवान्वित भयो । सबैले आ–आफ्ना रायहरु व्यक्त गरे । तर बिगत २ महिना भन्दा बेसिदेखी तपाईंले तपाईंको ट्विट मार्फत दिएका अभिव्यक्तिहरु हेर्दा लाग्छ तपाईलाई राष्ट्रिय समस्याहरु भन्दा पनि सरकारको आलोचना, नकारात्मक टिप्पणी, ब्यङ्ग्य, सीमा विषयमा मौनता, जातिय द्वेष, विभिन्न जालझेल र राजनैतिक मुद्धा, सत्ता पक्षीय विभिन्न नेता कमरेडहरुलाई बिवादित बनाउने प्रयास नै बढि प्यारो लाग्दो रैछ । नेपालमा युगान्तकारी परिवर्तन गर्ने उद्देश्य लिएर १०औं वर्ष जनयुद्ध गरेर भारतीय विस्तारवाद विरुद्ध सुरुङ्ग युद्ध घोषणा गर्ने तपाईंबाट आम जनता यतिसम्म निराश होलान भन्ने हामीले कल्पना समेत गरेका थिएनौं १ तपाईंको उपयुक्त सुझाब नत कोरोनाको विषयले प्राप्त गर्यो, नत् सीमाको विषयले । के यो साह्रै लाजमर्दो कुरा होइन र रु सरकारले नक्सा जारि गरयो, नेपालको निशान छाप भित्र रहेको नेपालको नक्सा परिवर्तन गर्नु पर्ने भो, त्यसको लागी संविधान संसोधन, संविधान संसोधनको पूर्व सन्ध्यामा भारतीय विदेश सचिव नेपाल प्रवेश, त्यहाँ तपाईं लगाएत विभिन्न कथित नेताहरु सङ्गको भेट बडो अनौठो परिदृश्य देखियो । लगत्तै त्यो भेट पश्चात काङ्ग्रेसले संसोधन प्रस्तावको विषयमा बुझ्न समय माग गर्नु, तपाइको पार्टीले संविधान संसोधनको लागी विभन्न सर्तहरु राख्नु, सत्ता परिवर्तनका लागी निच प्रपन्चहरु रच्नु जस्ता गतिविधीहरु घोर निन्दनीय छ्न्, यी र यस्ता व्यबहारहरुले गर्दा इतिहासले तपाइलाई कसरी मुल्यांकन गर्ला केहि सोच्नु भएको छ ?? यो विषयमा गम्भीर बन्नुहोस ।
डा. साप, अन्त्यमा,
१. कुनै जातजाती निच वा तल्लो भन्ने हुँदैन, त्यो त मान्छेको सोच मात्र हो १ यसलाई बिवादको विषय नबानाउ । तपाई जत्तिको बौद्धिक ब्यक्तिले कुनै जाती विशेषको वकालत गरेर समाज रुपान्तरण हुदैन, त्यहाँ झन द्वन्द चर्किने सम्भावना हुन्छ । त्यसैले यस्ता कुराले क्षणिक वाहवाही होला तर दीर्घकालमा असर पुग्छ ।
२. राजनीतिमा सधै एकनास हुँदैन, राष्ट्र बनाउने तपाईका पनि ब्यक्तिगत भिजन होलान तिनलाई जनता सामु लैजानुहोस, ट्विटरमा सरकारको अनर्गल प्रचार प्रसार सहितको विरोध गर्नु भन्दा आफ्ना योजनाहरु राख्नुहोस ।
३. अहिले संसार भरी नै जुन धार्मिक जातीय उन्माद र हिंसा सल्किन थालेको छ, त्यसलाई प्रेम पुर्बक बिसर्जन गर्ने एक उपाए अन्तर्जातीय विवाह पनि हो । तर यति भनिरहदाँ हिन्दु धार्मिक तथा सामाजिक आचरणको संहिता “मनुस्मृती”मा उल्लेख गरिएका ८ किसिमका विवाहहरु मध्य अस्ति रुकुममा गर्न खोजिएको विवाहको प्रकृती “राक्षस” रैछ (स्त्रीलाई जबर्जस्ति भगाएर गरिने बिवाह) त्यस्तो विवाहमा द्वन्द स्वभाबिक देखिन्छ तर हत्या अपराध नै हो । यो विषयमा एकोहोरो भाषा प्रयोग नगरी बिश्लेशण गर्नु जरुरी हुन्छ कि ?
४. जनताको म्याण्डेट प्राप्त सरकारलाई पूर्ण अबधिभर काम गर्ने वातावरण बनाउनु तपाईं प्रतिपक्षीहरुको भूमिका पनि अहम रहन्छ । त्यसैले यो कार्यकाल कुनै षड्यन्त्र र प्रपन्च नरची सरकारलाई स्थिर भएर काम गर्न दिनुस । एउटा सामाजिक शक्तीको रुपमा उदय भएको राजनैतिक शक्ति नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारलाई भुमिका बिहिन लाचार या पङ्गु बनाउने प्रयास गरियो भने यो राष्ट्रको लागी दुर्भाग्यपूर्ण साबित हुनेछ ! यदि राजनैतिक निकासको लागी अरु कुनै बाटो अख्तियार गर्नु पर्ने भएमा समृद्ध नेपालको सपना सपना मै सिमित रहने छ । त्यसैले सम्भाबित दुर्घटनाहरुबाट जोगिन एक जिम्मेवार राजनीतिक नेतृत्वको भुमिका निर्बाह गर्नुस् । तपाईहरु आगामी निर्वाचनको लागी तयार हुनुस् ।
५. मैले माथी नै उल्लेख गरिसके हत्या अपराध हो, त्यसैले चाहे टिकापुर घटनाको अपराधी होस्, या रुकुम घटनाका, पिडितलाई जातीयताको आधारमा नहेरी दुबै तर्फका पिडितले न्याए पाउने गरि भुमिका निर्बाह गर्नुहोस ! कुनै अपराधीलाई कुनै बहानामा उन्मुक्ति दिन पाइने छैन । सुनिदैछ, अपराधी छोड्नु पर्ने तपाईंको जोडदार माग छ । कृपया अपराधी अपराधि नै हो, अपराधी जोगाउने राजनीति बन्द गर्नुस् !
धन्यवाद !
शुसिल ज्ञवाली, बर्दिया






