रमेश पौडेल
हिजोदेखि फेरि नेपालको राजनीतिमा एउटा तरङ्ग पैदा भएको छ भने भारतीय संचार माध्यमहरुले सिमा विवाद मुद्दामा नेपाल पछि हट्यो र भारतको जित भए जसरी अफवाह पनि फैलाई रहेका छन् । १३ गते सम्पन्न सर्वदलीय बैठकमा संविधान संसोधनको विषयमा हामी केन्द्रीय समिति बैठकबाटै निर्णय गर्छौ र त्यसको लागि केही समय चाहिन्छ भन्ने कुरा कांग्रेस नेताहरूले बताइरहेका थिए र विज्ञप्ति समेत जारी गरिसकेको छन् । त्यसैले धैर्य गरौं कङ्ग्रेसले शनिवार केन्द्रीय समिति बैठकबाट सो निर्णय गर्ने छ । हिजो कस्को पालामा के गल्ती भयो भन्ने मुद्दा उठाउने अतिरञ्जित गर्ने समय होईन अहिले । भौगोलिक अखण्डता, सिमा रक्षा र राष्ट्रिय स्वाधीनताको सवालमा सबै दल र विचार समुहबीच एकमत रहने कुरामा कुनै दुविधा रहने छैन भन्ने विश्वास छ आम नेपालीलाई ।
हाल संसदमा पेश भएको संविधान संशोधन विधेयक एउटा विधेयक मात्र होइन । योसंगै जोडिएको वर्षौदेखि मिचीएको हाम्रो जमिनको हो, हाम्रो राष्ट्रिय स्वाधीनताको हो र हाम्रो अतिक्रमित सिमानाको रक्षाको पनि हो । जहिले पनि चुनावी भाषणको बेला मात्र देखिने राष्ट्रियता र राष्ट्र प्रेमलाई प्रमाणित गर्ने अवसर पनि हो । त्यसैले कङ्ग्रेस मात्र होइन यो देशमा क्रियाशील सम्पूर्ण राजनीतिक दल यो मुद्दाबाट पछि हट्ने छैनन् र संविधान संशोधन विधेयक निसर्त पास हुनेछ भन्ने आशा छ । त्यसकारण हामी आम नेपाली ससंकित नभै धैर्यताका साथ संयमित रहन आवश्यक देखिन्छ ।
अहिले जसरी भारतीय दुत श्याम शरण नेपाल आएर आफ्नो गतिविधि चलाइरहेका छन् । त्यसैगरि २०७२ असोज ०३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा हुनु भन्दा २ दिन पहिला ९असोज ०१ गते० भारतीय दुत एस जयशंकर नेपाल आएर संविधान घोषणा गर्ने कार्यलाई प्रभावित पार्न खोजेका थिए र उनको सो कदमका विरुद्ध तत्कालीन संविधान सभाबाट संकल्प प्रस्ताव नै पास गरेर केहि मधेशवादी दल बाहेकको जुन राष्ट्रिय एकता कायम गरेर ०३ गते संविधान घोषणा गर्ने सफलता मिल्यो । हाल पनि त्यही खालको राष्ट्रिय एकताको आवश्यकता महशुस भएको छ । कसैका केही असहमति, केही फरक मत छन् भने त्यो विषयलाई यो विधेयकसँग नजोडौं । त्यो विषयमा पछि पनि छलफल गर्न सकिन्छ । भारतीय सञ्चार माध्यमहरुको प्रस्तुति अनुसार त भारतको जित भयो, नेपाल सिमा विवाद मुद्दाबाट पछाडी हटिसक्यो भन्दै दिपावली नै गर्न लागिसके । त्यसैले नेपालका राजनीतिक दलहरु भौगोलिक अखण्डता, सिमा रक्षा र राष्ट्रिय स्वाधीनताको सवालमा सदैव एक ठाउँमा हुन्छन भन्ने सन्देश दिदै सो संविधान संशोधन विधेयक चालू संसद अधिवेशनबाट पास गर्नु हुनेछ भन्ने आशा छ ।
सन १९६२ ताका भएको भारत चिन बिचको युद्धको समयदेखि अतिक्रमण सुरु हुन थालेको हाम्रो भूभाग अतिक्रमणबाट मुक्त गराउन पहल गर्ने मौका धेरैले पाएका थिए तर तत्परता कसैले देखाएनन् । यो सुवर्ण अवसर पनि हो जनताका प्यारा राजनेता सम्माननीय प्रधानमन्त्री ज्यू बृहत राष्ट्रिय एकता कायम गरि निशान छाप परिवर्तनको विषयमा संसदमा पेश भएको संविधान संशोधन विधेयक तत्काल पास गर्ने वातावरण सिर्जना गर्नुहोस । अन्यथा नक्सा जारी भैसकेको छ । राजपत्रमा प्रकाशित भैसक्यो अब आज संसदमा प्रस्तुत हुने बजेटलाई पास गरेर चालू संसद अधिवेशन स्थगित गरि अध्यादेश मार्फत सो विधेयक जारी गरियोस ।
केन्द्रीय सदस्य–राष्ट्रिय युवा संघ नेपाल






