गत जनवरी २१ मा उहान प्रान्तबाट उत्पन्न भई हालसम्म करिव २०२ राष्ट्रहरुमा फैलि विश्वका सवै मानिसहरुमा त्रासै त्रासको पारिरहेको कोरोना भाइरस (कोभिड–१९)ले हाम्रो देश नेपालमा समेत विषम परिस्थिती सिर्जना गरेको छ ।
आज नेपाल सरकारले लक डाउन गरेको ९औं दिन वित्यो । शक्तिशालि राष्ट्रहरुलाई समेत यो रोगको नियन्त्रण गर्न ठूलै चुनौति भइरहेको समयमा नेपालमा त सिमित श्रोत साधनको बाबजुत पनि आजको दिनसम्म ११३३ जनाको कोरोना टेष्ट भइसकेको छ भने ९९ जना आइसोलेशनमा राखिएको छ । जसमा ५ जनामा संक्रमण देखिएकोमा एक जना निको भइसक्नुभएको छ भने बाँकी ४ जना उपचारको क्रममा रहनुभएको छ । उपचारको क्रममा रहनुभएका ४ जनाकै अवस्था पनि समान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जहाँबाट यो संक्रमण फैलिएको चीनको उहानमा पनि शुरुमा जनवरी २३ तारिखबाट लकडाउनको घोषणा गरिएको थियो । विकसित मुलुक चीनमा पनि उक्त समयमा विरामीको चेकअप गर्न चिकित्सकलाई आवश्यक पर्ने माक्स लगायतका सामग्रीहरु उपलब्ध नभएकाले उपचारमा कठिन परिस्थिती बनेको थियो । तर पनि शक्तिशालि मुलुकको रुपमा रहेको चीनले कोरोनाको संकटलाई लगभग नियन्त्रणमा लिन सफल भएको छ ।
नेपालमा पनि क्वारेन्टाईन तथा आवश्यकीय तयारीहरु ९औं दिनसम्म आइपुग्दा स्रोत र साधनले भ्याएसम्म भइरहेको छ । अब जुन किसिमको सुरक्षा कवज डाक्टर तथा नर्सलगायतका उपचारमा खटिएका व्यक्तिहरुको लागि आवश्यक सामग्रीहरुको व्यवस्थापन भइरहेको छ । अनिवार्य आवश्यकाका सामग्रीको व्यवस्थापन सरकारले गरिरहेको छ । कोरोना परिक्षणको प्रयोशाला काठमाडौँको टेकुको साथमा धरान, पोखरा, धनगडी, जनकपुर, बुटवल, सुर्खेतलगायतका ठाउँहरुबाट समेत परिक्षण शुरु भइसकेको छ भने दुई वटा प्रयोगमा आउने क्रममा रहेको छ । त्यस्तै हेटौंडामा पनि मर्मत गरी राख्ने तयारी भइरहेको छ । यसरी कोरोना टेष्ट गर्ने प्रयोगशाला बढाउँदा अबको समय बढी भन्दा बढी मानिसहरुको टेष्ट गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।
कोरोना हाम्रो देशमा सिर्जित रोगको संक्रमण भने हैन । यो विदेशबाट आएका हाम्रा नेपाली दाजुभाई तथा दिदी बहिनीहरु र विदेशी पाहुुनाबाट आउने र आएको देखिन्छ । अतः विदेशबाट आएका त्यस्तो मानिसहरुको पहिचना गरी तिनिहरुलाई क्वारेन्टाइनमा राखेर कमसेकम रोग नलागेकालाई निश्चित समययावधी हेरेर घर पठाउने व्यवस्था मिलाउनुपर्छ । त्यस्तै विरामी परेकालाई छिटो भन्दा छिटो परिक्षण गरी उपचारको विधि अपनाउनु जरुरी रहेको छ । सवै ति संक्रमितसँग सम्पर्कमा आएका मानिसहरुलाई पनि क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नु पर्छ । त्यस्ता मानिसहरुलाई सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाजहरुले प्रत्यक्ष निगरानी तथा खवरदारी गर्नु जरुरी रहेको छ । यसो गर्न सके यो रोग फैलनबाट रोक्न सकिन्छ ।
विभिन्न अस्पतालहरुमा साधारण ज्वरो आएका विरामीलाई पनि डाक्टर तथा नर्सहरुले उपचार नगरी फर्कारहेको तितो यथार्थ रहेको छ । यसको लागि सरकारले त्यस्ता प्रकारका स्वासथ्यकर्मीलाई अनिवार्य रुपमा आफ्नो काम र जिम्मेवारीमा उत्तरदायीत्व बहन गराउन महत्वपूर्ण कदम चाल्नुुपर्ने आवश्यकता देखिएको छ ।
हाम्रो छिमेकी देश भारतसँग भएको खुल्ला सीमानाका कारण सीमाबाट जो जसरी नेपाल प्रवेश गरका छन्, त्यस्ता मानिसहरुको पहिचान गर्नु नेपाल प्रहरी, जनप्रतिनिधि, नागरिक समाजको उत्तरदायीत्व हो । जसको लागि अभियान्ताहरुलाई परिचालन गराएर पहिचान गर्नु जरुरी रहेको छ । साथै उनीहरुको अवस्था, स्वास्थ्यको स्थिती बुझेर पहिलो कुरा त सवैलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्दछ । त्यस पछि परिक्षणको दायरा बढाउँदै कोरोनाको रोकथाम तथा नियन्त्रण गर्नु आवश्यकता रहेको छ ।
लक डाउनको ९औं दिन वितिरहँदा केही ठाउँहरुमा खाद्यान्न, ग्यास तथा अत्यावस्यक सामग्रीको समस्या भइरहेको अवस्था रहेको छ । यस्तो समस्यालाई समाधान गर्न सरकारले आपूर्ती व्यवस्थालाई सहज बनाउनु आवश्यकता रहेको छ । विशेष गरी ज्याला मजदुरी गरी दैनिक जिविकोपार्जन गर्ने वास्तविक मानिसहरुको पहिचान गरी उनीहरुलाई तत्काल राहतको व्यवस्था गर्नु पर्छ ।
यो सँगै हामीले पनि हाम्रो उत्तरदायीत्व पुरा गर्नुपर्छ । लकडाउन हुँदा पनि अनावश्यक काममा मानिसहरु बाहिर निस्किरहेका छन् । जसको कारण कोरोना नियन्त्रण गर्न मुख्य चुनौति बनिरहेको छ । त्यसैले सरकारले गरेको अपिललाई हामी सवैले पालना गर्नै पर्छ । लकडाउन पालना गर्नु अरु कसैको लागि नभई आफ्नो र आफ्नो परिवारलाई सुरक्षित पार्नु नै हो । त्यसैले आम नागरिकले सोच्न जरुरी रहेको छ कि सरकारले गरेको लकडाउन मेरो र मेरो परिवारको लागि नै हो भनि सोच्यौं भने निश्चय नै हाम्रो घर, परिवार, समाज तथा राष्ट्रबाट कोरोनालाई नियन्त्रण गर्न सकिन्छ ।
बरिष्ठ चलचित्र निर्देशक तथा सामाजिक अभियान्ता
मदन घिमिरे






