एजेन्सी, ३ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशङ्का छ । चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकमा बिहीबार सम्बोधन गर्दै ट्रम्पले एआईका फाइदासँगै यसका जोखिमप्रति पनि सचेत रहनुपर्ने बताए । एआईलाई नियन्त्रण र सीमित गर्ने विश्वव्यापी नियम अमेरिकालाई स्वीकार्य नहुने उनको भनाइ थियो ।
ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने वार्तामा एआईको तीव्र विकास र त्यसबाट उत्पन्न चुनौतीबारे छलफल हुने अपेक्षा गरिएको छ । साइबर आक्रमण, जैविक हतियार निर्माणमा एआईको दुरुपयोग, सैन्य प्रयोग तथा सामूहिक निगरानी यस क्षेत्रका प्रमुख सुरक्षा चुनौती हुन् । यसैबीच, एआई एजेन्टको अनियन्त्रित प्रयोगप्रति पनि चिन्ता बढेको छ । ओपनएआईका बटहरू अस्ट्रेलियाको सरकारी पोर्टलसहित विभिन्न वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरेको घटना सार्वजनिक भएको छ । यसअघि ट्रम्प र सीबीच एआईसम्बन्धी घटनामा तत्काल सूचना आदानप्रदान गर्न सञ्चार संयन्त्र स्थापना गर्ने सहमति भएको थियो । सीले एआई मानव नियन्त्रणमा रहनुपर्ने र त्यसका लागि कानूनी व्यवस्था तथा प्राविधिक निगरानी आवश्यक रहेको बताउँदै आएका छन् ।






