सी, ट्रम्प र पुटिनबीच त्रिपक्षीय शिखर बैठक हुँदै: यस्ता छन् बैठकका प्राथमिकता

बेइजिङ, ३० कार्तिक । चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रप ति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच आगामी नोभेम्बर १९ मा चीनको शेन्जेनमा पहिलो त्रिपक्षीय शिखर बैठक हुने भएको छ ।

चिनियाँ विदेश मन्त्रालयले सोमबार एक संक्षिप्त विज्ञप्ति जारी गर्दै राष्ट्रपति सीले नोभेम्बर १९ मा शेन्जेनमा रुसी र अमेरिकी समकक्षीसँग भेटवार्ता गर्ने उल्लेख गरेको छ । यद्यपि बैठकमा छलफल हुने विषय र कार्यसूचीबारे मन्त्रालयले थप विवरण सार्वजनिक गरेको छैन ।

यो उच्चस्तरीय भेटवार्ता चीनको गुआङ्दोङ प्रान्तमा हुन लागेको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) प्रमुख कार्यकारी अधिकृत (सीइओ) शिखर सम्मेलनसँग समेत जोडिएको छ । चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् (सिसिपिआइटी) ले आइतबार दिएको जानकारीअनुसार नोभेम्बर १७ र १८ मा हुने उक्त सम्मेलनमा राष्ट्रपति सीसहित एपेकका १२ सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुनेछन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सिसिपिआइटीका उपाध्यक्ष ली छिङ्सुआङले पत्रकार सम्मेलनमार्फत अस्ट्रेलिया, क्यानाडा, चिली, हङकङ, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, रुस, थाइल्यान्ड, भियतनाम र आयोजक चीनका प्रतिनिधिहरूले सम्मेलनका विभिन्न सत्रमा सम्बोधन गर्ने वा सहभागिता जनाउने जानकारी दिएका थिए ।

राजनीतिक नेतृत्वसँगै सम्मेलनमा विश्वका ठूला व्यावसायिक संस्थाका प्रतिनिधिहरूको पनि उल्लेख्य सहभागिता रहनेछ । ‘फर्च्युन ग्लोबल ५००’ सूचीमा रहेका ११५ कम्पनीका कार्यकारीहरू सम्मेलनमा सहभागी हुनेछन् । उपाध्यक्ष लीका अनुसार मुख्य भूमि चीनबाहिरका मुलुक तथा क्षेत्रबाट आउने प्रतिनिधिमण्डलमध्ये अमेरिकी उद्यमहरूको सहभागिता सबैभन्दा ठूलो हुनेछ । सम्मेलनमा सहभागी हुने कुल कम्पनीमध्ये करिब २० प्रतिशत अमेरिकी हुनेछन् ।

सम्मेलनमा अमेरिका, रुस र जापानका व्यापारिक सङ्घका नेताहरूका साथै विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू पनि सहभागी हुनेछन् । ‘सँगै समृद्धि हासिल गर्ने र भविष्य जित्ने’ नारासहित आयोजना हुने यस मञ्चले एपेकका आर्थिक नेताहरूको बैठकका क्रममा सरकारी नीति र निजी क्षेत्रका व्यावसायिक प्राथमिकताबिच समन्वय बढाउने अपेक्षा गरिएको छ ।

सम्मेलनका छलफलमा आपूर्ति शृङ्खलालाई थप भरपर्दो बनाउने, क्षेत्रीय व्यापारिक प्रक्रियालाई सहज तुल्याउने तथा डिजिटल र हरित अर्थतन्त्रका क्षेत्रमा संयुक्त लगानी र सहकार्य विस्तार गर्ने विषय प्राथमिकतामा रहनेछन् ।

यसैबीच, आगामी नेताहरूको शिखर सम्मेलनका लागि निजी क्षेत्रका नीतिगत सुझाव तयार पार्न एपेक व्यापार सल्लाहकार परिषद्को चौथो बैठक नोभेम्बर १४ मा शेन्जेनमा भएको थियो । परिषद्ले निजी क्षेत्रका सुझावलाई समेटेर आगामी नेताहरूको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नवलपुर, ३० कार्तिक । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट

मकवानपुर, ३० कार्तिक । मकवानपुरको चित्लाङबाट लागुऔषध चरेससहित २ जना पक्राउ परेका छन् । थाहा नगरपालिका–९ स्थित चित्लाङ चेक प्वाइन्टबाट

काठमाडौँ, ३० कार्तिक । रारा ताल घुम्न आएका पर्यटक सवार गाडी मुगुमा दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ

काठमाडौँ, ३० कार्तिक । सुनसरीको हरिनगर गाउँपालिकामा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीका