काठमाडौँ, २९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल आज बिहान चीन प्रस्थान गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिमण्डललाई रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए । भ्रमणका क्रममा रास्वपा र सीपीसीबिच आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत बहुआयामिक विषयमा छलफल हुने महामन्त्री आचार्यले जानकारी दिए ।
सत्तारूढ दलको प्रतिनिधिमण्डल भएकाले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबाट समान खालका सुझाव आएको आचार्यले जिकिर गरे ।
‘सत्तारूढ दलको डेलिगेसन भएकाले प्रधानमन्त्रीले राज्यले जे सोच्छ, त्यसमा ख्याल गर्नुहोला भन्नुभएको हो । भ्रमणको विषयमा प्रधानमन्त्री र पार्टी सभापतिको समान खालको चासो र सुझाव आएका छन्,’ उनले भने ।
आचार्यले भ्रमणका क्रममा सीपीसीका महासचिव तथा राष्ट्रपति सी जिनपिङसँग भेट नहुने स्पष्ट पारे । यद्यपि दोस्रो तहका नेतासँग बेइजिङमा छलफल हुन सक्ने उनले बताए । छलफलमा प्रविधि, कनेक्टिभिटी र क्रस बोर्डरका विषयमा केन्द्रित हुने आचार्यले जानकारी दिए ।







