काठमाडौँ, १९ कार्तिक । आज सेयर बजार १२.९५ अंक घटेको छ । यो कमीसँगै बजार परिसूचक नेप्से २६५२ अंकमा कायम भएको छ ।
अघिल्लो दिन नेप्से १.४० अंक बढेको थियो । कारोबार सुरु भएपछि २ मिनेटसम्म बजारले बढ्ने संकेत देखाएपनि त्यसपछि दिनभर बजार रातो अंकमा रह्यो । कारोबार रकम पनि कमी आएको छ । अघिल्लो दिन ७ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७२ करोडको भयो । ५६ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने १२ को स्थिर रह्यो ।
माइक्रोफाइनान्सबाहेक सबै समूहगत सूचक घटेका छन् । माइक्रोफाइनान्स जम्मा ०.०९ प्रतिशत बढ्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।
बैंकिङ ०.५७, विकास बैंक ०.७०, फाइनान्स ०.५०, होटल तथा पर्यटन ०.४२, जलविद्युत् ०.६७, लगानी ०.२९, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.६२, निर्जीवन बीमा ०.३९, अन्य ०.४८ तथा व्यापार ०.१४ प्रतिशत घटे । स्नो रिभर्सको २.८७, एसियन हाइड्रोपावरको २.७०, मेरो माइक्रोफाइनान्सको २.४२, भगवती हाइड्रोपावरको २.३८, आँखुखोला जलविद्युतको मूल्य २.३७ प्रतिशत बढ्यो ।







