काठमाडौँ, १९ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले आगामी लगानी सम्मेलनलाई परियोजना घोषणामा मात्र सीमित नगरी मुलुकमा बनेका लगानीमैत्री कानुनहरूको प्रदर्शनीका रूपमा अघि बढाउने बताएका छन् ।
आज ‘नेपाल पूर्वाधार सम्मेलन’को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै मन्त्री लम्सालले यसपटक सम्मेलनको मुख्य उद्देश्य लगानीकर्तालाई कानुनी सुरक्षाको सुनिश्चितता देखाउनु रहेको स्पष्ट पारे।
उनले भने, ‘लगानीकर्ताका लागि लगानीको सुरक्षा, श्रमिकको संरक्षण, बजारको ग्यारेन्टी र लगानी नडुब्ने वातावरण चाहिन्छ,’ ‘हामीले ती सबै सुनिश्चितता प्रदान गर्न कानुनहरू संशोधन गरिसकेका छौँ भनेर ‘कानुन शोकेस’ गर्नु नै यो सम्मेलनको प्रमुख लक्ष्य हो।’
मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न हाल ५९ वटा ऐनको मस्यौदा तयार भइसकेको जानकारी दिँदै मन्त्री लम्सालले तिहार लगत्तै ती कानुनहरूलाई औपचारिकता दिएर राजपत्रमा प्रकाशित गर्ने तयारी भइरहेको बताए ।







