काठमाडौँ, १९ कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी हेडक्वाटर पुगेर डा. मनोजकुमार केसीले मातहत प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
निर्देशनको क्रममा नवनियुक्त आईजीपी केसीले अवस्थाको विषम परिस्थिती, संवेदनशील सूचना चुहावट र प्रतिशोधका विषयमा बोले । उनले कसैप्रति पनि प्रतिशोधपूर्ण व्यवहार नहुने बताए । व्यक्तिगत विषयलाई संगठनमा नजोड्ने र कसैप्रति पनि प्रतिशोधपूर्ण व्यवहार नहुने बताए ।
त्यस्तैगरी संवेदनशील सूचनाहरूको पूर्ण गोपनीयता कायम गर्न र अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने पनि उनले बताए । विधिको शासनको पालना गराउने क्रममा संगठनप्रति पूर्ण वफादार रही कुनै पनि प्रलोभन, प्रभाव नपर्न पनि निर्देशन दिए । प्रहरी संगठनको श्रीवृद्धि, प्रतिष्ठा र नागरिकको विश्वासलाई केन्द्रमा राख्दै सबै प्रहरी कर्मचारीहरू एक ढिक्का भई विषम परिस्थितिमा नेपाल सरकार र आम नेपाली नागरिकको अपेक्षा अनुरूप संगठनका काम कारबाहीहरू अगाडि बढ्नु नितान्त आवश्यक रहेको बताए ।






