काठमाडौँ, १७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुवै पार्टीले एकता प्रक्रियालाई अघि बढाउन १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
कार्तिक १७ गते भएको सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ भने चुनाव चिह्न पाँचकुने तारा राखिनेछ । सहमति पत्रमा पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने उल्लेख छ ।
त्यस्तै, नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई नेपाली क्रान्तिको कार्यक्रमका रूपमा अघि बढाउने सहमति भएको छ । एकीकृत पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरणलाई तत्कालीन कार्यनीतिको आधार बनाउनेछ । आन्दोलन मूलतः शान्तिपूर्ण हुने र परिस्थितिअनुसार सडक, संसद् तथा सरकारलगायतका सबै मोर्चा प्रयोग गर्न सकिने सहमतिपत्रमा उल्लेख छ ।
सहमतिपत्रमा नेपाली कम्युनिस्ट पार्टीका महासचिव उर्मा भुजेल, सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् ।








