काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको अर्थतन्त्र लथालिंग अवस्थामा रहेको भन्दै यसको सुधारमा सरकारको ध्यान जानुपर्ने बताएका छन् ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘विशेष’ सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्न नसकेको टिप्पणी गरे ।
उनले यस विषयमा कांग्रेसले साथ दिने बताए । उनले भने, “अर्थतन्त्र लथालिंग भएको छ । यस्तो बेलामा सरकारको ध्यान यो विषयमा जाओस् । यो कुरामा हामीले साथ दिन्छौँ । नेपाली कांग्रेसले साथ दिन्छ,” ।
सरकारले कांग्रेस प्रमुख प्रतिपक्ष दल हो भन्ने बिर्सन नहुने पनि उनले बताए । सरकारको निगरानी र खबरदारी गर्नु प्रतिपक्षको जिम्मेवारी भएको उनले उल्लेख गरे ।
“कांग्रेस पाँच वर्ष प्रतिपक्षमा छ । सरकारले यो कुरा बुझोस् र सम्मान गरोस् । लोकतन्त्रको सवालमा खबरदारी गर्ने काम हाम्रो हो । निगरानी गर्ने काम हाम्रो हो,” उनले भने, “सरकार स्वेच्छाचारी हुने र जवाफदेही नहुने कुरा हामीलाई स्वीकार्य छैन । डरबाट शासन गर्ने कुरा मलाई स्वीकार्य छैन ।”







