काठमाडौँ, ३१ असोज । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
बडादसैँ–२०८३ का अवसरमा आज शुभकामना दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीबिच आपसी सद्भाव, एकता, सहकार्य र भ्रातृत्वको भावना अझ सुदृढ बनाओस् भन्ने शुभेच्छा प्रकट गरेका हुन् । दसैँ धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेको मौलिक पर्व भएको उल्लेख गर्दै अध्यक्ष दाहालले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने बताएका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले समृद्ध राष्ट्र भएको उल्लेख गर्दै उनले नेपालको संविधानले धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता सुनिश्चित गरेको बताएका छन्। संविधानले सबै समुदायका भाषा, संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा संवर्द्धनलाई महत्त्व दिएको उनको भनाइ छ।
अध्यक्ष दाहालका अनुसार ‘सबै धर्म, सम्प्रदाय र समुदायका चाडपर्वप्रति समान सम्मान’ र सहिष्णुता राख्दै ‘विविधताभित्रको एकतालाई बलियो बनाउनु सबैको साझा दायित्व हो’।







