रियाद विमानस्थलमा आक्रमण, १ जनाको मृत्यु, ११ घाइते

एजेन्सी, २६ असोज । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्यास्त्र प्रहारमा परी एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

साउदी सैन्य प्रवक्ताका अनुसार आइतबार विमानस्थलमा एक क्षेप्यास्त्र खसेको थियो, जसका कारण यात्रु हल नम्बर ४ मा भीषण आगलागी भएको थियो। 

साउदी नागरिक उड्डयन प्राधिकरणले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त आक्रमणमा परी एक पाकिस्तानी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। यसअघि शनिबार सोही विमानस्थलमा भएको अर्को आक्रमणमा १३ जनाको मृत्यु हुनुका साथै ३०८ जना घाइते भएका थिए।

यमनका हुथी विद्रोहीले यी आक्रमणको जिम्मेवारी लिँदै एयरलाइन्स र यात्रुहरूलाई साउदी अरबका विमानस्थल तथा हवाई मार्ग प्रयोग नगर्न चेतावनी दिएका छन्। विगत २४ घण्टामा ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरी विमानस्थललाई लक्षित गरिएको हुथी समूहले दाबी गरेको छ।

हुथी सैन्य प्रवक्ता ब्रिगेडियर जनरल याह्या सारेका अनुसार उनीहरूले पूर्वी साउदी अरबका तेल प्रशोधन केन्द्र र दम्माम विमानस्थलमा पनि आक्रमण गरेका छन्। साउदी अरबभित्र आक्रमणलाई अझ तीव्र पार्ने चेतावनी दिँदै उनले मक्का र मदिनाका पवित्र सहर बाहेक सबै साउदी विमानस्थल सम्भावित निशानामा रहेको बताएका छन्।

यमनको गृहयुद्धमा सरकारी सेनालाई साउदीले गरेको समर्थन र साना विमानस्थलमा भएको हवाई हमलाको जवाफमा साउदी अरबलाई लक्षित गरिएको हुथीहरूले जनाएका छन्।

आइतबार साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मालिकीले रियाद विमानस्थल नजिकै एयर डिफेन्स प्रणालीले एउटा क्षेप्यास्त्र निष्क्रिय पारेको बताएका छन्। यात्रु हलमा अज्ञात क्षेप्यास्त्र खसेर लागेको आगो नियन्त्रणमा लिन अधिकारीहरू खटिएका थिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित चन्द्र भण्डारीले प्रतिनिधिले गरेको विश्वासको शिर झुक्न नदिने प्रतिवद्धता जनाएका

काठमाडौँ, २६ असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम

काठमाडौँ, २५ असोज । नेपाली सेनाले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरेको छ । आज सेनाले एक

काठमाडौँ, २५ असोज । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीका सदस्यहरुलाई बाढीबाट प्रभावितहरूको उद्धारमा जुट्न निर्देशन दिएको छ । सभापति लामिछानेले