चितवन, २४ असोज । जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्लाका तीन हजार ३६२ जना मतदाताको नाम नामावलीबाट हटाएको छ ।
जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार निर्वाचन आयोग नेपालको स्वीकृत कार्यक्रमअनुसार जिल्लाभरि गरिएको नामावली छानबिनका क्रममा दोहोरो दर्ता भएका, मृत्यु भएका र नागरिकता परित्याग गरेका व्यक्तिको नाम हटाइएको हो ।
कार्कीका अनुसार दोहोरो दर्ता भएका एक हजार ९४३, मृत्यु भएका एक हजार ३८० र नागरिकता परित्याग गरेका ३९ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ ।
कुल चार लाख ४२ हजार ८२ जना मतदाता रहेको जिल्लामा अद्यावधिकसहित अन्तिम मतदाता नामावली भने यसै महिनाको अन्त्यमा प्रकाशन गरिने कार्यालयले जनाएको छ ।







