एजेन्सी, २४ असोज । मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
शुक्रबार गएको भूकम्पका कारण राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको छ भने विभिन्न स्थानमा भवन, सडक र पुलमा क्षति पुगेको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५६ बजे भूकम्प गएको हो । यसको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको अजुएरो प्रायद्वीपको पितालोसा अरिबा क्षेत्रबाट करिब ९ माइल दक्षिणपश्चिममा थियो ।
भूकम्पपछि शक्तिशाली परकम्पसमेत गएका छन् । दिउँसो ४ः२५ बजे गएको परकम्पको प्रारम्भिक तीव्रता ६.९ म्याग्निच्युड मापन गरिएको थियो । भूगर्भविद्हरूले तत्कालका लागि परकम्पलाई मुख्य जोखिमका रूपमा औँल्याएका छन् ।







