काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ ।
दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि भेडा खरिद गर्ने चलन रहेकाले हरेक वर्ष यस समयमा भेडा–च्याङग्राको माग बढ्ने गरेको छ ।
बागलुङको ढोरपाटनबाट व्यवसायीले भेडा तथा च्याङग्रा गुल्मीको सदरमुकाम तम्घासमा ल्याएर बिक्री सुरु गरेका हुन् । दशैंलाई लक्षित गरी यस वर्ष करिब एक सय वटा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको हो ।
असोज ४ गतेदेखि भेडा–च्याङग्रा बिक्रीका लागि ढोरपाटनबाट यात्रा सुरु गरिएको हो । यस वर्ष ल्याइएका भेडा तथा च्याङग्रा साना–ठूला हेरेर बिक्री भइरहेको छ । हाल च्याङग्राको जिउँदो तौल प्रतिकिलो १ हजार २ सय रुपैयाँ र भेडाको प्रतिकिलो १ हजार रुपैयाँका दरले बिक्री भइरहेको छ ।







