रुसी बम आक्रमणमा युक्रेनमा ३० जनाको मृत्यु

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ ।

युक्रेनी अधिकारीहरूका अनुसार क्रामतोस्र्क समुदायकै बिलेन्के गाउँमा थप तीनजनाको मृत्यु भएको छ । आक्रमणमा १८ जना घाइते भएको डोनेट्स्क क्षेत्रीय प्रमुख वादिम फिलास्किनले बताए । उनले रुसी सेनाले धेरैभन्दा धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यले यात्रुवाहक बसलाई निशाना बनाएको आरोप लगाएका छन् ।

क्रामतोस्र्क र छिमेकी स्लोभ्यान्स्क युक्रेनको ‘किल्ला क्षेत्र’का हिस्सा हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि डोनबासको सम्पूर्ण औद्योगिक क्षेत्र कब्जा गर्ने प्रयास गरिरहेको आरोप छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको कडा जवाफ दिनुपर्ने बताएका छन् । उनले रुसले डोनबासमा जनजीवन नष्ट गर्न खोजेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय समुदायलाई प्रतिक्रिया जनाउन आग्रह गरेका छन् ।

स्थानीय अभियोजकहरूले सार्वजनिक गरेका तस्बिरमा जलेका बसका अवशेष, भग्नावशेष र सडकमा शवहरू देखिएका छन् । आक्रमणबारे मस्कोले हालसम्म टिप्पणी गरेको छैन ।

युक्रेनमा रुसी आक्रमण तीव्र बन्दै जाँदा सर्वसाधारणको मृत्यु पनि बढिरहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२५ भरि मारिएका नागरिकको संख्याभन्दा यस वर्ष अगस्टसम्ममा बढी सर्वसाधारण मारिइसकेका छन् ।

यसअघि, बुधबार बिहान राजधानी किभको पूर्वमा रहेको प्रिलुकीमा पाँचतले आवासीय भवन ध्वस्त हुने गरी भएको आक्रमणमा पाँच बालबालिकासहित २२ जनाको मृत्यु भएको थियो । मृतक बालबालिकामध्ये तीनजना एक वर्षका थिए । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज नेपालको नेपालको राजनीतिमा नेपाली कांग्रेसको विचार सर्वस्वीकार्य भएको छ । नेपाली

काठमाडौँ, १५ कार्तिक । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ