काठमाडौँ, २० असोज । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गरिने भएको छ ।
यातायात व्यवस्था विभागमा आज बसेको व्यवसायीलगायत सरोकारवाला निकायको संयुक्त बैठकले चाडपर्वलाई लक्षित गरी असोज २३ गतेदेखि लामो तथा मध्यम दुरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
बैठकले फूलपातीदेखि पूर्णिमासम्मका लागि रिजर्भ गाडीहरू तथा लामो/मध्यम दुरीका सवारीसाधनलाई नेपालभरका लागि रुट–परमिट खुला गर्ने निर्णय गरेको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिए ।
चाडपर्वको अवधिमा सडकमा यातायातको चाप कम गर्न फलफूल, तरकारी, औषधि, खाद्यान्न, खसीबोका जस्ता अत्यावश्यक सामग्री बोक्ने गाडीहरूलाई मात्र प्राथमिकता दिइने निर्णय भएको उनले बताए । उनले भने, “यात्रुहरूलाई ठगिन वा कालाबजारी हुन नदिन र भाडादरमा पारदर्शिता कायम गर्न प्रमुख नाका तथा स्टेसनहरूमा सहायता कक्ष राखिनेछ,” ।







