एजेन्सी, १९ असोज । अमेरिकाले बेलायतस्थित सैन्य आधार शिविर फेयरफोर्डबाट आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ ।
अमेरिकाको यो कदम प्रति–आतंकवाद प्रहरीले अनुसन्धान गरिरहेको गम्भीर घटनापछि आएको हो । अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले आइतबार जारी गरेको वक्तव्यमा सैन्य आधारमा रहेका सबै बमवर्षक विमानलाई अमेरिकास्थित उनीहरूका मुख्य सैन्य आधारमा फिर्ता पठाइएको पुष्टि गरेका छन् ।
विमान फिर्ता बोलाउनुको स्पष्ट कारण अमेरिकाले सार्वजनिक गरेको छैन । तर, गत सेप्टेम्बर २७ मा ग्लुस्टरशायरस्थित उक्त हवाई अड्डानजिकै तीनवटा शंकास्पद सवारीसाधन फेला परेपछि विकसित घटनाक्रमसँग यसलाई जोडेर हेरिएको छ ।
घटनापछि पाँचजना पुरुषलाई आतंकवादी गतिविधिसम्बन्धी शंकामा पक्राउ गरी धरौटीमा रिहा गरिएको थियो । पछि बेलायती–इरानी नागरिकता भएका २५ वर्षीय व्यक्तिलाई पनि लन्डनबाट पक्राउ गरिएको थियो । उनलाई समेत शनिबार धरौटीमा रिहा गरिएको प्रति–आतंकवाद प्रहरीले जनाएको छ । बीबीसी







