एजेन्सी, १७ असोज । जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको छ ।
जुलाईमा बेरोजगारी दर २.४ प्रतिशत थियो । सरकारी तथ्यांकअनुसार पाँच महिनापछि पहिलोपटक बेरोजगारी दर बढेको हो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका मानिसको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर ६ करोड ८३ लाख ४० हजार पुगेको छ । रोजगारी गुमाएका वा छोडेका मानिसमध्ये ८ लाख १० हजारले स्वेच्छाले जागिर छोडेका थिए । राम्रो कामको अवस्था खोज्ने उद्देश्यले जागिर छोड्नेको सङ्ख्या जुलाईको तुलनामा ८ प्रतिशतले बढेको हो ।
त्यस्तै, ४ लाख मानिसलाई रोजगारदाताले कामबाट हटाएका थिए । यस्तो सङ्ख्या अघिल्लो महिनाको तुलनामा ५.३ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ । अगस्टमा नयाँ रोजगारी खोज्ने मानिसको सङ्ख्या पनि २.२ प्रतिशतले बढेर ४ लाख ६० हजार पुगेको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका छुट्टै तथ्यांकअनुसार अगस्टमा प्रत्येक १०० जना रोजगारी खोज्ने मानिसका लागि ११८ वटा रोजगारीका अवसर उपलब्ध थिए । यो अनुपात जुलाईकै स्तरमा कायम रहेको छ ।







