एजेन्सी, १५ असोज । फ्रान्समा जीवनयापनको लागत बढ्दै जाँदा परिवारको क्रयशक्तिमा ऐतिहासिक दबाब परेको छ ।
सन् २०२४ यता दुई वयस्क र दुई बालबालिका भएको औसत परिवारको क्रयशक्तिमा वास्तविक अर्थमा वार्षिक करिब १,२०० युरो बराबरको कमी आएको आर्थिक विश्लेषणले देखाएको छ ।
‘ले मोंद’का अनुसार सन् २०२५ मा परिवारको आकार र संरचनाअनुसार समायोजन गरिएको औसत ‘उपभोग एकाइ’को क्रयशक्ति ०.७ प्रतिशतले घटेको थियो । सन् २०२६ मा पनि थप ०.७ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।
सन् १९६० देखि फ्रान्सको राष्ट्रिय तथ्यांक तथा आर्थिक अध्ययन संस्थान (आईएनएसईई)ले तथ्यांक राख्न थालेयता लगातार दुई वर्ष क्रयशक्ति घटेको अवस्था यसअघि दुईपटक मात्र देखिएको थियो । सन् १९८३–८४ मा तत्कालीन राष्ट्रपति फ्राँस्वा मितराँको कार्यकालमा लागू गरिएको मितव्ययिता नीतिका बेला पहिलोपटक यस्तो भएको थियो । दोस्रोपटक विश्वव्यापी वित्तीय संकटपछि २०१०–२०१३ बीच यस्तो अवस्था आएको थियो ।
यस अर्थमा अहिलेको अवस्था फ्रान्सको क्रयशक्ति संकटको तेस्रो ऐतिहासिक चरणका रूपमा देखिएको छ । फ्रान्सेली अर्थतन्त्रसम्बन्धी संस्थानका अर्थशास्त्री म्याथ्यु प्लानले अहिलेको अवस्था निकै कठिन भएको बताएका छन् । संस्थानको गणनाअनुसार सन् २०२४ यता क्रयशक्तिमा आएको गिरावट दुई वयस्क र दुई बालबालिका भएको परिवारका लागि मुद्रास्फीति समायोजनपछि वास्तविक अर्थमा वार्षिक करिब १,२०० युरो बराबर छ । एक वयस्कका लागि यस्तो कमी करिब ६०० युरो हुने अनुमान छ ।







