काठमाडौँ, १५ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
अध्यक्ष ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतको निधनको दुःखद खबरले आफूलाई स्तब्ध बनाएको बताएका हुन् । अध्यक्ष ओलीले नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा बस्नेतले पुर्याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरेका छन् ।
अध्यक्ष ओलीले लामो जेल जीवन र यातनाका अनेकौँ शृङ्खला पार गर्दै बस्नेतलगायतका योद्धाहरूले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि संघर्ष गरेको स्मरण गरेका छन्। उनले ती कष्टपूर्ण दिनहरू आफूले सम्झिरहेको समेत बताएका छन् । ‘कमरेड घनेन्द्र बस्नेत हामीबीच नरहनुभएको दुःखद खबर सुनेँ। नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान अविस्मरणीय छ,’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन् ।
अध्यक्ष ओलीले बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सहयोद्धाहरूप्रति गहिरो समवेदना व्यक्त गरेकाछन् । बस्नेतको संघर्ष र योगदान नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैँ सम्मानपूर्वक स्मरण भइरहने ओलीले उल्लेख गरेका छन् ।







