काठमाडौँ, १२ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल र रसियाबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो ।
भेटमा शिक्षा, खेलकुद, जनशक्ति विकास, तथा अन्य पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो । मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रसियन सरकारले पुर्याउँदै आएको योगदान र सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले शिक्षा तथा खेलकुदका क्षेत्रमा नेपाल र रसियाबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।
भेटमा राजदूत भ्लादीमेरोभिकले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्न रसियाली पक्ष इच्छुक रहेको बताए । उनले यी क्षेत्रमा सहकार्यका नयाँ सम्भावना पहिल्याउँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा राखे ।






