काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि एक महिनाका निम्ति राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । यही असोज ८ गते पनि राष्ट्र बैंकले एक महिनाकै निम्ति २० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गरको थियो ।
आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज ०८३ कात्तिक ११ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका निम्ति निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।







