काठमाडौँ, ७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशैभर एकसाथ पालिका तहको अधिवेशन हुँदै छ ।
यही असोज ३ गते वडा अधिवेशनबाट विधिवत् प्रारम्भ भएको महाधिवेशन प्रक्रिया स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने चरणमा प्रवेश गरेको हो । पार्टी केन्द्रीय समितिले २०८२ पुस २१ सम्म नवीकरण गरेका क्रियाशील सदस्यहरूलाई समेत समेट्ने लचकतापूर्ण निर्णय गरेपछि पुरानो विवरणमा नयाँ नामहरू समावेश गर्दा केही स्थानमा सदस्यता सूचीलाई अन्तिम रूप दिन सामान्य ढिलाइ भएको निर्वाचन समितिले स्पष्ट पारेको छ ।
कांग्रेसको नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट हरेक पालिकामा पाँचजना पदाधिकारी चयन हुनेछन् । जसमा एकजना सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्षको चयन सभापतिले निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट गर्ने वैधानिक प्रावधान रहेको छ । सदस्यहरूको हकमा भने पालिका कार्यसमितिमा प्रत्येक वडाबाट एक महिला र एक खुला, युवा क्लस्टरबाट एक महिला र दुई खुला, तथा दलित समुदायबाट एक महिला र एक खुला सदस्य निर्वाचित हुनेछन् ।
यसका अतिरिक्त कार्यसमितिलाई पूर्ण समावेशी बनाउन गाउँ कार्यसमितिमा सातजना, नगर कार्यसमितिमा नौजना, उपमहानगर कार्यसमितिमा ११ जना र महानगर कार्यसमितिमा १३ जना सदस्य मनोनयन गर्न सकिने व्यवस्था मिलाइएको छ । मनोनयन गर्दा निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका समुदायलाई अनिवार्य प्राथमिकता दिनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ ।






