काठमाडौँ, ५ असोज । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भेटवार्ता गरेका छन् ।
आज उनीहरूबीच भएको भेटमा भदौ १० गते गएको विनाशकारी बाढीका बारेमा कुराकानी भएको बताइएको छ ।
भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षति तथा सहयोगलगायतका विषयमा विचार–विमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले भोटेकोशी बाढीमा नेपाली, चिनियाँ तथा अन्य विदेशी नागरिकको मृत्यु, सम्पत्ति र पूर्वाधारमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे ।
आकस्मिक विपत्तिपछि चीनबाट पाँच चरणमा प्राप्त मानवीय राहत सहयोग, उद्धारमा संलग्न नौ सदस्यीय सुरुङ उद्धार टोली तथा मृतकहरूको पहिचानका लागि सहयोग पुर्याइरहेका १५ जना फरेन्सिक विशेषज्ञप्रति उनले आभार व्यक्त गरे । चीन सरकारद्वारा उपलब्ध गराइएको २० लाख अमेरिकी डलर सहयोग तथा चिनियाँ रेडक्रस सोसाइटीमार्फत प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको थप दुई लाख अमेरिकी डलर सहयोगका लागि पनि धन्यवाद व्यक्त गरे ।






