एजेन्सी, ५ असोज । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलिमा खान पक्राउ परेकी छन्। अर्को हप्ता इमरान खानको समर्थनमा हुन लागेको विरोध प्रदर्शनअघि उनकाे पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) पार्टीले यस गिरफ्तारीको पुष्टि गरेको छ।
पीटीआईका अधिकारीहरूका अनुसार अलिमालाई आइतबार दिउँसो पूर्वी शहर लाहोरबाट नियन्त्रणमा लिइएको हो। पार्टीले यसलाई गैरकानुनी हिरासत भनेको छ भने उनका छोराले उनलाई तत्काल छाड्न माग गरेका छन्।
लाहोरका डेपुटी कमिसनरको आदेशमा अलिमाले सामाजिक सञ्जाल र सार्वजनिक सभाहरूमार्फत इमरान खानका समर्थकहरूलाई सङ्गठित गरिरहेको आरोप लगाइएको छ। आदेशअनुसार उनलाई ३० दिनका लागि हिरासतमा राखिनेछ। अलिमा आफ्ना भाइको गिरफ्तारीको खुला विरोध गर्दै आएकी थिइन् र उनी लगातार समर्थक तथा सञ्चारमाध्यमसँग संवादमा थिइन्।
प्रहरी अधिकारीले अलिमाको गिरफ्तारीको पुष्टि गरेका छन्। आदेशानुसार उनलाई लाहोरको कोट लखपत जेलमा लगिनेछ। गिरफ्तारीअघि उनको परिवारले उनको अवस्थाबारे कुनै जानकारी नभएको बताएको थियो। सरकारले तत्काल उनको अवस्था सार्वजनिक गर्नुपर्ने र उनको सुरक्षित फिर्ती सुनिश्चित गर्नुपर्ने माग उनका छोरा शहरेज खानले सामाजिक सञ्जाल एक्समा गरेका छन्।






