एजेन्सी, ३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनसम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै सिएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारहरूलाई ह्वाइट हाउसमा प्रवेश गर्न रोक लगाउने घोषणा गरेका छन् ।
राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत उक्त घोषणा गर्दै ती सञ्चारमाध्यमले आफ्नो प्रशासन र अमेरिकासम्बन्धी समाचार प्रकाशन गर्दा आफूले तथ्यपरक नठानेका सामग्री निरन्तर प्रकाशित गरेको आरोप लगाएका हुन् । उनले भविष्यमा अन्य सञ्चारमाध्यममाथि पनि यस्तै कदम चाल्न सकिने संकेत गरेका छन् ।
ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफूले कुनै एउटा घटनाका कारण मात्र यस्तो निर्णय नगरेको, बरु विगत केही वर्षमा प्रकाशित समाचारहरूको समग्र प्रभावका कारण निर्णयमा पुगेको बताएका छन् ।
उनले सम्बन्धित सञ्चारमाध्यमका समाचारप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्दै आफूलाई निष्पक्ष र सत्यतथ्यमा आधारित समाचार आवश्यक रहेको बताएका छन् । साथै, ह्वाइट हाउसबाट थप सञ्चारमाध्यमलाई समेत बाहिर राख्न सकिने संकेत गरेका छन् ।






