अल्जेरियाद्वारा यूएईसँग कूटनीतिक सम्बन्ध विच्छेद

एजेन्सी, २६ भदौ । अल्जेरियाले बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सँगको कूटनीतिक सम्बन्ध पूर्ण रूपमा विच्छेद गरेको घोषणा गरेको छ ।

अल्जेरियाली विदेश मन्त्रालयले यूएईका ‘उत्तेजक र शत्रुतापूर्ण गतिविधि’का कारण द्विपक्षीय सम्बन्ध जोगाउने सबै प्रयास असफल भएपछि सम्बन्ध विच्छेद गर्ने निर्णय गरिएको जनाएको छ । 

निर्णयसँगै अल्जेरियाले यूएईका राजदूतलाई ४८ घण्टाभित्र देश छाड्न निर्देशन दिएको छ । सम्बन्ध विच्छेदसँगै अल्जेरियाको रक्षा मन्त्रालयले शुक्रबारदेखि लागु हुने गरी यूएईमा दर्ता भएका सबै नागरिक तथा सैन्य विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । 

यद्यपि, अल्जेरियामा उडान गर्ने र त्यहाँबाट फर्किने यूएईका व्यापारिक नागरिक उडानलाई भने सन् २०२६ को अन्त्यसम्म, अर्थात् विद्यमान सम्झौताको अवधि समाप्त नभएसम्म, सञ्चालन गर्न दिइनेछ ।

अल्जेरियाली विदेश मन्त्रालयले यूएईलाई पटक–पटक चेतावनी दिए पनि उसले अवाञ्छित गतिविधि जारी राखेकाले स्थिति सीमाभन्दा बाहिर पुगेको जनाएको छ ।

यूएईको विदेश मन्त्रालयले भने अल्जेरियाको निर्णय अस्थायी रहने आशा व्यक्त गरेको छ । उसले अल्जेरियाली जनतासँगको भ्रातृपूर्ण सम्बन्ध र त्यहाँका नागरिकप्रति आफ्नो उच्च सम्मान रहेको जनाएको छ ।

यूएईका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार अनवार गर्गासले सामाजिक सञ्जाल ‘एक्स’मा अल्जेरियाको नाम प्रत्यक्ष रूपमा उल्लेख नगरी कूटनीतिक सम्बन्ध ‘कठिन समस्या र संकेतहरू डिकोड गर्ने’ विषय नभई ‘तार्किकता, सञ्चार र स्पष्ट हितहरूमा’ आधारित हुनुपर्ने टिप्पणी गरेका छन् ।

अल्जेरिया र यूएईबीच उत्तरी तथा पश्चिमी अफ्रिकामा यूएईको बढ्दो प्रभावलाई लिएर वर्षौंदेखि कूटनीतिक खिचातानी चल्दै आएको थियो । 

अल्जेरियाले यूएईमाथि उत्तर अफ्रिका तथा साहेल क्षेत्रमा लिबिया, माली र सुडानजस्ता देशलाई अस्थिर बनाउने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । डीडब्ल्यू

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ कार्तिक । चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्कने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै

काठमाडौँ, १८ कार्तिक । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान शिवराज नगरपालिका–५, चन्द्रौटा खसी

काठमाडौँ, १८ कार्तिक । रूपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका–७, भगलापुर बस्ने

काठमाडौँ, १८ कार्तिक । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार