हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना प्रदेशसभा सदस्यलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।
राप्रपा संसदीय दलले ह्विप उल्लंघन गरेको भन्दै ५ सांसदलाई पदबाट निष्कासन गर्न प्रदेश सभाका सभामुखसमक्ष सिफारिस गरेको हो । राप्रपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक डम्बर तामाङले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराउँदै पूर्व सभामुखसमेत रहेका सांसद भुवनकुमार पाठकसहित ५ जनालाई प्रदेश सभा सदस्यबाट हटाउन माग गरेका हुन्।
कारबाही सिफारिस गरिएका सांसदहरूमा पाठकसहित कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामा रहेका छन् । संसदीय दलको कार्यालयद्वारा पठाइएको पत्रअनुसार, गत भदौ २ गते बसेको संसदीय दलको बैठकको निर्णयबमोजिम राप्रपा बागमती प्रदेश सरकारमा सहभागी भएको थियो ।
सोहीअनुसार मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिन भदौ ७ गतेको दलको बैठकले निर्णय गर्दै आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन र पक्षमा मतदान गर्न प्रमुख सचेतकमार्फत ह्विप जारी गरेको थियो । जसमा ५ जना सांसदहरूले ह्विप उल्लङ्घन गर्दै प्रदेश सभाको बैठकमा अनुपस्थित भएको पत्रमा उल्लेख छ ।






