काठमाडौँ, २२ भदौ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोसी बाढीको सन्दर्भमा सरकारले हिरोइजम (नायकत्व) मात्र देखाएको आरोप लगाएका छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय संयोजन समितिको बैठकमा विनाशकारी बाढीको समीक्षा गर्दै प्रचण्डले पीडित नागरिकको खोजी, उद्धार र राहतमा सरकारले इमानदारिता नदेखाएको जिकिर गरेका हुन् ।
उनले भने, ‘सरकारले हिरोइजम देखायो । प्रधानमन्त्रीको काम बिहान–बेलुका स्टाटस राख्ने र गृहमन्त्री सुरुङ कोट्याउनमै सीमित देखिए । सञ्चार मन्त्रालयले गर्ने काम प्रधानमन्त्रीले गरिरहनुभएको छ,’ ‘विपद्को बेला प्रधानमन्त्रीले सबै राजनीतिक दलसँग समन्वय गरेर अगाडि बढ्नुपर्थ्यो । विश्वका नेताहरूलाई अपिल गर्नुपर्थ्यो । त्यस्तो कुनै पहल गरिएको देखिएन । सरकारको गतिविधि बचपनापूर्ण देखियो, यसरी देश चल्दैन । उहाँहरूले नजानेर होइन, राजनीति गर्न खोजिएको देखिन्छ ।’
विनाशकारी बाढी आएको ११औँ दिनमा सरकारको कामकारबाही, जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव र पार्टीको पहलकदमीलगायत विषयमा समीक्षा गर्न नेकपाले बैठक बोलाएको थियो । बैठकमा बोल्दै प्रचण्डले प्रभावित क्षेत्रका पीडितहरूलाई तत्काल खोजी र उद्धार गर्न सरकार असफल देखिएको बताए ।






