भक्तपुर, २१ भदाै । प्रतिनिधि सभा सदस्य गङ्गालक्ष्मी अवालले रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सरकार प्रोएक्टिभ भएर काम गरिरहेको बताएकी छन् ।
आइतबार भक्तपुर नागरिक समाजले सूर्यविनायकमा आयोजना गरेको ‘विपद् र महिला सचेतना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद अवालले सरकारले घोडाजसरी काम गरिरहेको बताएकी हुन्।
उनले भनिन्, “सरकार अहिले एक्टिभ भएर काम गरिरहेको छ। अहिलेको क्यालेन्डर नै यस्तै रहेछ। मेरो अनुसन्धानअनुसार अहिलेको चाइनिज क्यालेन्डरमा २०२६ भनेको घोडाको वर्ष रे। घोडा भनेको फास्ट हुन्छ नि। अहिले हेर्दा सरकार पनि फास्ट छ, काम पनि फास्ट।”
कार्यक्रममा विपद् विज्ञ रामहरि केसी, सूर्यविनायक नगरपालिका–८ की वडा सदस्य अञ्जना विक, राष्ट्रिय प्राणी उद्यान सरोकार समाजका महासचिव तथा अधिवक्ता सुजिन भुजेललगायतले आफ्नो मन्तव्य राखेका थिए। प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन चण्डिका खतिवडाले गरेकी थिइन्। कार्यक्रममा केशव लुइँटेलले स्वागत मन्तव्य र कुमार बस्नेतले कार्यक्रमको संयोजन गरेका थिए।






