काठमाडौँ, २० भदौ । अति कम विकसित देशहरूको समूह (एलडीसी) ले भोटेकोशी बाढीप्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यानाकर्षण गराउँदै हानि–नोक्सानीबापत नेपाललाई क्षतिपूर्ति दिन माग गरेको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) मा आबद्ध ४४ वटा देशहरूको मन्त्रिस्तरीय बैठकले नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। पूर्वी टिमोरको डिलीबाट २६ बुँदासहितको घोषणापत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड दिएको छ।
विश्वव्यापी तापमान वृद्धिमा अत्यन्त न्यून भूमिका भए पनि एलडीसी राष्ट्रहरूमा गम्भीर जलवायु संकट बढिसकेको कुरा भोटेकोशीको घटनाले संकेत गरेको निष्कर्ष बैठकले निकालेको छ। हाल भइरहेको उत्सर्जन तुरुन्त कटौती नगर्ने हो भने १.५ डिग्री तापक्रम कायम गर्ने प्रतिबद्धता पूरा नहुने उनीहरूको ठहर छ।





