काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को क्षणमा उद्धार,राहत र पुनर्स्थापनामामा जुट्नु सबैको साझा कर्तव्य भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकलाई दलका तर्फबाट सम्बोधन गर्दै नेता आङदेम्बेले सरकारको साथमा सँगै छौँ भन्नुको अर्थ सरकारले गरेका सबै कुरा माफ भन्ने नभएको बताए । उनले बाढी गएको एक साता बित्दा सबै ठिकठाक भन्न नमिल्ने बताए । उनले सरकारलाई कमजोर नभएर प्रभावकारी प्रश्न गर्ने जनाए ।
उनले भने, ‘विपद्को क्षणमा उद्धार, राहत र पुनर्स्थापनामा जुट्नु सबैको साझा कर्तव्य हो । नेपाली कांग्रेस सरकारको साथमा छ, विपद्को पीडा भोगिरहेका परिवारको साथमै छौँ । राम्रो काम गर्छ साथ समर्थन छ, बाटो बिराउँछ प्रश्न र खबरदारी पनि छ । नागरिकको जीवनसँगको प्रश्नलाई गाली होइन समीक्षाको विषय हो ।’
उनले सरकारलाई पाँच वटा विषयमा ध्यानाकर्षण गराउँदै खोज तथा उद्धारमा भएको ढिलाइ गम्भीर विषय भएको बताए । उनले उद्धारमा अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ भएको पनि बताए । उनले गृहमन्त्री आफैँ सुरुङ खन्न गएको प्रसङ्ग कोट्याउँदै उनले आफ्नै सदस्य त्यो सुरुङमा परेको भए गृहमन्त्री आफैँ त्यहाँ जानु हुन्थ्यो कि उद्धार टोली खटाउनुहुन्थ्यो भनेर प्रश्न गरे ।






