काठमाडौँ, १४ भदौ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको क्षेत्रमा वाग्मती प्रदेश सरकारले उद्धार, राहत र पुनर्निर्माणलाई तीव्रता दिने भएको छ ।
बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणसम्मका विषयमा छलफल गर्न प्रदेशका राजनीतिक दलका शीर्ष नेताहरूबीच सर्वदलीय बैठक बसेको हो ।
आज मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा बसेको बैठकबाट विपद्पछिको अवस्थालाई सम्बोधन गर्न सरकार, राजनीतिक दल र सम्बन्धित निकायबीच समन्वय गरेर तत्कालीन तथा दीर्घकालीन योजना अघि बढाउने निर्णय गरिएको छ ।
बैठकमा वाग्मती प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीहरू राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामासहित विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरूको उपस्थिति थियो ।
बाढीबाट अत्यधिक प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका क्षेत्रमा तत्काल अस्थायी आवासको व्यवस्थापन, उद्धार तथा राहत वितरणलाई कुनै अवरोधबिना निरन्तरता दिने निर्णय बैठकबाट गरिएको छ ।






