पूर्वीतराईमा साम्प्रदायिक तनाव हुँदा आवश्यक सक्रियता नदेखाएको आरोप खेपेका प्रधानमन्त्री बालेन्द्र शाह रसुवामा बाढी आएपछि भने बिहानैदेखि वस्तुस्थिति बुझ्ने, उद्धार र राहतका लागि समन्वय गर्ने, संयन्त्र परिचालनमा खटिएका छन् ।
प्रधानमन्त्री शाहले यस्तो विपत्को वेला सबै एकढिक्का हुनुपर्ने अपिल गरेका छन् । ‘म सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आमनागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन अनुरोध गर्दछु,’ उनले भनेका छन् ।
प्रधानमन्त्री शाहले पीडाको यो घडीमा सिंगो नेपाल सरकार र सम्पूर्ण देशवासी साथमा रहेको बताएका छन् । यो दुःखद खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौँको संख्यामा उद्धार कार्यमा परिचालन गरेको उनले उल्लेख गरेका छन् । बाढी गएलगत्तै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बसेको, त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठकसमेत बसेर महत्वपूर्ण निर्णय गरिएको जानकारी गराएका छन् ।





