काठमाडौँ, २ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मुलुकीसंहिता समयअनुकूल संशोधन गर्नुपर्ने आवश्कता भएको बताएकी छिन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सोमबार ‘संहिता दिवस–२०८३’ का अवसरमा आयोजित समारोहमा मन्त्री गौतमले मुलुकीसंहिता न्यायमुखी, नागरिकमैत्री र कार्यान्वयन गर्न सकिने गरी संशोधन गर्नुपर्ने बताएकी हुन् । कृत्रिम बुद्धिमत्ता, साइबर अपराध, डिजिटल कारोबार, नयाँ प्रकारका आर्थिक अपराध, वातावरणीय सङ्कट, नयाँ प्रकृतिका सामाजिक सम्बन्ध र बदलिँदो रोजगारीका स्वरूपले कानुनका अगाडि नयाँ प्रश्नहरू खडा गरिरहेको मन्त्री गौतमको भनाइ थियो ।
उनले भनिन्, “मुलुकीसंहिता दिवसले सबैलाई एउटा साझा सङ्कल्प गराओस्, नागरिकको विश्वासका लागि उत्तरदायी राज्य बनाउनुपर्छ ।” कानुन आयोगलाई अझ सक्षम, अनुसन्धानमुखी र प्रभावकारी संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको भन्दै मन्त्री गौतमले कानुन निर्माणमा संलग्न कानुन अधिकृतहरूको क्षमता विकास, अनुभव आदानप्रदान र व्यावसायिक दक्षता अभिवृद्धिका लागि कानुन अधिकृत सम्मेलनलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताइन् ।





