काठमाडौँ, ३१ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले जाजरकोटमा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
मुख्यमन्त्री शाहीले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
शनिबारदेखि परेको अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका वडा नं. २, रिसाङग लगायतका क्षेत्रमा गएको पहिरोमा परी एक जनाकाे ज्यान गएकाे छ भने तीन जना बेपत्ता छन्। मुख्यमन्त्री शाहीले विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावितहरूलाई तत्काल सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
मुख्यमन्त्री शाहीका अनुसार उद्धार कार्यलाई प्रभावकारी बनाउन तीनै तहका सुरक्षा निकाय र संघीय गृह मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको छ।
“कर्णाली प्रदेश आपतकालीन गोदामघरमा रहेका राहत सामग्रीहरू प्रभावितको यकिन तथ्याङ्कका आधारमा तत्काल पठाउने तयारी भइरहेको छ,” मुख्यमन्त्रीले भने।
जाजरकोटको रावटेरे क्षेत्रमा पहिरोका कारण जोखिममा परेका करिब १६ जनालाई सुरक्षित स्थानमा ल्याउन सुरक्षा निकायको विशेष टोली परिचालन गरिएको मुख्यमन्त्री शाहीले जानकारी दिए। उनीहरूको सुरक्षित उद्धारका लागि आवश्यक व्यवस्थापन मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको र समन्वय भइरहेको उनको भनाइ छ।






