काठमाडौँ, २४ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई आफ्नै पार्टीका साथीहरुले निन्दा गरेको बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा धारणा राख्दै उनले आफूलाई पार्टीका साथीहरुले निन्दा गरेको भए पनि तलैसम्म माया गर्नेको संख्या निकै ठूलो रहेको बताएका हुन् ।
उनले भने, “निन्दा गर्नेको पछि नलाग्नू,” “मलाई माया गर्ने थुप्रै साथी नभएको भए पटक–पटक घेराबन्दीको बीचमा बाँचेर आउने थिइनँ । आजको घेराबन्दीमा पनि बाँचेर आउँछु । थुप्रै साथीको माया छ ।”
त्यस्तै उनले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशलाई सहज रूपमा लिँदै त्यसको सामना गर्ने बताएका छन् ।
थापाले पार्टीका कामहरू विधानसम्मत भएकाले डराउनुपर्ने अवस्था नरहेको बताए । बैठकमा थापाले कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत ढंगले सम्पन्न भएको र त्यसलाई निर्वाचन आयोगले पनि कानुनअनुसार नै अध्यावधिक गरेको स्मरण गरे । ‘हाम्रो विशेष महाधिवेशन विधानसम्मत छ। निर्वाचन आयोगले पनि यसलाई कानुनसम्मत ठहर गर्दै अभिलेखीकरण गरिसकेको छ,’ उनले भने ।






