क्यामेराको लेन्सदेखि चलचित्र विकास बोर्डसम्म : बिरेन्द्र भट्टको प्रेरणादायी यात्रा

सुदूरपश्चिमबाट चलचित्र विकास बोर्डमा प्रतिनिधित्व गर्ने पहिलो अवसर, दुई दशकभन्दा लामो चलचित्र यात्रा

सुदूरपश्चिमको बैतडीमा जन्मिएर चलचित्र क्षेत्रमा आफ्नो पहिचान बनाउन काठमाडौँ आउनुभएका बिरेन्द्र भट्ट अहिले चलचित्र विकास बोर्डको सदस्यको जिम्मेवारीमा हुनुहुन्छ। सामान्य प्राविधिक भूमिकाबाट चलचित्र यात्रा सुरु गरेका भट्ट संघर्ष, निरन्तरता र व्यावसायिक दक्षताको बलमा सफल छायाकार हुँदै चलचित्र क्षेत्रको नीतिगत तहसम्म पुग्न सफल हुनुभएको हो ।

वि.सं. २०४६ सालमा बैतडीमा जन्मिनुभएका भट्ट बुवा कृष्णदत्त भट्ट र आमा जानकी भट्टका जेठा सुपुत्र हुनुहुन्छ । उहाँले डोटीको जोरायल गाउँपालिका–रामपुर माध्यमिक विद्यालयबाट प्रारम्भिक तथा माध्यमिक शिक्षा हासिल गर्नुभयो । एसएलसीपछि डडेल्धुरास्थित महेन्द्र उच्च माध्यमिक विद्यालयबाट प्लस टुको अध्ययन पूरा गर्नुभयो ।

उच्च माध्यमिक तहको शिक्षा पूरा गरेपछि वि.सं. २०६१ सालमा उज्ज्वल भविष्यको खोजीमा काठमाडौँ प्रवेश गर्नुभएका भट्टले सोही वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा आफ्नो यात्रा सुरु गर्नुभयो । चलचित्र क्षेत्रमा प्रवेश गर्दा उहाँले क्यामेरा टेक्निसियन, लाइटम्यान, फोकसम्यान तथा सहायक क्यामेराम्यानका रूपमा काम गर्दै प्राविधिक सीप र अनुभव हासिल गर्नुभयो ।

सानो भूमिकाबाट सुरु भएको यही यात्रा विस्तारै सफल छायाकारसम्म

क्यामेराम्यानका रूपमा भट्टले दर्जनौ म्युजिक भिडियोमा छायांकन गरिसक्नुभएको छ । एलिना चौहानको स्वरमा रहेको ‘धोकेबाजे हौ तिमी’, जय देवकोटाको ‘तिमी मर्छौ थाहा छ’ लगायतका चर्चित गीत तथा म्युजिक भिडियोमा उहाँको छायांकन रहेको छ । त्यस्तै ‘एक से एक’, ‘माइ ब्रदर’, ‘चिहान’, ‘धुन’, ‘आरोप’, ‘शिवा’, ‘रिलेसन’, ‘सुखानी’, ‘वे टु इन्जुरी’ लगायत एक दर्जनभन्दा बढी नेपाली चलचित्रमा उहाँले छायांकन गर्नुभएको छ ।

चलचित्र, म्युजिक भिडियो, डकुमेन्टरी तथा विभिन्न दृश्य–श्रव्य सामग्रीमा निरन्तर काम गर्दै उहाँले नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समय योगदान पुर्‍याउनुभएको छ ।

सुदूरपश्चिमको आवाज बोर्डसम्म

लामो समय चलचित्र क्षेत्रमा सक्रिय रहेर हासिल गरेको अनुभव र योगदानका आधारमा भट्ट अहिले चलचित्र विकास बोर्डको सदस्यका रूपमा कार्यरत हुनुहुन्छ । सुदूरपश्चिमबाट चलचित्र विकास बोर्डमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नु उहाँको व्यक्तिगत उपलब्धिसँगै सुदूरपश्चिमको चलचित्र क्षेत्रका लागि पनि महत्वपूर्ण उपलब्धि मानिएको छ ।

बोर्ड सदस्यका रूपमा उहाँ चलचित्र क्षेत्रका समस्या समाधान, प्राविधिक विकास, चलचित्र उद्योगको प्रवर्द्धन तथा नेपाली चलचित्र क्षेत्रलाई अझ व्यवस्थित र व्यावसायिक बनाउने कार्यमा सक्रिय हुनुहुन्छ । विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा ओझेलमा परेका चलचित्र गन्तव्यको पहिचान, विकास र चलचित्र पर्यटनको प्रवर्द्धनका लागि उहाँले पहल गर्दै आउनुभएको छ ।

प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, ऐतिहासिक सम्पदा र भौगोलिक विविधताले सम्पन्न सुदूरपश्चिम तथा कर्णालीलाई चलचित्र छायांकनका आकर्षक गन्तव्यका रूपमा विकास गर्न सके त्यसले चलचित्र उद्योगसँगै पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उहाँको विश्वास छ ।

संघर्षबाट जिम्मेवारीसम्म

क्यामेरा टेक्निसियनका रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका भट्टको यात्रा आज चलचित्र विकास बोर्डको सदस्यसम्म आइपुगेको छ । यो यात्रा सहज थिएन । लामो समयको संघर्ष, निरन्तर मेहनत, कामप्रतिको इमान्दारिता र व्यावसायिक दक्षताले उहाँलाई क्रमशः जिम्मेवारीको नयाँ उचाइमा पुर्‍याएको हो । सुदूरपश्चिमको माटोबाट काठमाडौंको चलचित्र क्षेत्रमा प्रवेश गरेर क्यामेराको लेन्स समाउँदै सुरु भएको यात्रा आज चलचित्र क्षेत्रको नीतिगत तहसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो कार्यशैली बदल्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री

सुदूरपश्चिमबाट चलचित्र विकास बोर्डमा प्रतिनिधित्व गर्ने पहिलो अवसर, दुई दशकभन्दा लामो चलचित्र यात्रा सुदूरपश्चिमको बैतडीमा जन्मिएर चलचित्र क्षेत्रमा आफ्नो पहिचान

काठमाडौँ, २३ साउन । उद्योग मन्त्री गौरीकुमारी यादवले नेपाल ग्यास उद्योगको अनुगमन गरेकी छन् । शनिबार उनले  बालाजुस्थित नेपाल ग्यास

भक्तपुर, २३ साउन । राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी भक्तपुरको आयोजनामा चाँगुनारायण नगरपालिका–७, बागेश्वरीस्थित श्री वाल्मीकि आधारभूत विद्यालयको प्राङ्गणमा