भक्तपुर, २३ साउन । राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी भक्तपुरको आयोजनामा चाँगुनारायण नगरपालिका–७, बागेश्वरीस्थित श्री वाल्मीकि आधारभूत विद्यालयको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
“हरियाली आजको आवश्यकता, समृद्ध भविष्यको आधार” भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रममा विद्यालय परिसरलाई हरियाली तथा वातावरणमैत्री बनाउने उद्देश्यले विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको हो । कार्यक्रमअन्तर्गत विद्यालय परिसरमा १० थरिका फलफूलका बिरुवा रोपिएका छन् ।
रोपिएका बिरुवाहरूमा मेकाडिया नट, सुनकागती, स्याउ (ग्राफ्टेड), जापानिज हलुवाबेद (ग्राफ्टेड), खुर्पानी (ग्राफ्टेड), आरु (ग्राफ्टेड), ताइवान अम्बा, बोधिचित्त, सुन्तला (ग्राफ्टेड) र जुनार (ग्राफ्टेड) रहेका छन् ।
वृक्षारोपण कार्यक्रमले विद्यालय परिसरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा विद्यार्थीहरूमा प्रकृति र पर्यावरणप्रतिको जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। फलफूलका बिरुवा रोपिएकाले आगामी दिनमा विद्यालय परिसरलाई हरियालीयुक्त, स्वच्छ तथा उत्पादनमूलक वातावरणका रूपमा विकास गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा युवाहरूको सक्रिय सहभागिताले वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वप्रति युवा पुस्ताको प्रतिबद्धतालाई समेत उजागर गरेको छ । वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षण, नियमित स्याहार–सम्भार तथा हुर्काउने जिम्मेवारीलाई पनि उत्तिकै महत्व दिनुपर्नेमा जोड दिइएको छ । संघको जिल्ला कमिटीले वातावरण संरक्षणलाई सामाजिक दायित्वका रूपमा अघि बढाउँदै आगामी दिनमा पनि वृक्षारोपण, सरसफाइ तथा पर्यावरण संरक्षणसम्बन्धी गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।
कार्यक्रमले “आज रोपौँ रुख, हराभरा बनाऔँ भोलि, स्वस्थ जीवनका लागि हरेक हात, हरियो संकल्प” भन्ने मूल भावनालाई आत्मसात् गर्दै वातावरण संरक्षणमा सामूहिक प्रयास र युवाको भूमिकालाई थप प्रभावकारी बनाउने सन्देश दिएको छ ।






