काठमाडौँ, २२ साउन । सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले उठाएको ट्रमा सेन्टर स्थानान्तरणसम्बन्धी विषयमा आजै जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
आज प्रतिनिधिसभाको बैठकमा सांसद यादवले धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टरलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले अन्यत्र सार्न खोजेको भन्दै कडा विरोध जनाएका थिए । सांसद यादवको विरोध र गम्भीर ध्यानाकर्षणपछि सभामुख अर्यालले सरकारलाई सो विषयमा स्पष्ट पार्न निर्देशन दिएका हुन् ।
आकस्मिक समयमा बोल्दै सांसद डा.यादवले सरकारले राजनीतिक प्रतिशोध वा अन्य स्वार्थका कारण ढल्केबरको ट्रमा सेन्टर सार्न लागेको आरोप लगाए । उनले यसको विरोधमा आफू सदनको बैठक अवधिभर उभिएर‘मौन विरोध’ गर्ने घोषणा गरे।
त्यसपछि सांसद डा.यादवले सरकारलाई जवाफ दिन निर्देशन दिएमा मौन उभिएको विषय रोक्ने बताए । त्यसपछि सभामुख यादवले सरकारलाई आजै जवाफ दिन निर्देशन दिएका हुन् ।






